बेलैमा चिन्नुस् हरियो सिङ्गे किन्नुस् !



ईश्वरराज ढकाल, काठमाडौं।दशैं त आउनै लाग्यो, कस्तो खसी–बोका किन्दै हुनुहुन्छ ? सिङमा रातो लगाएको कि हरियो लगाएको ? किन्ने नै भए सिङमा हरियो लगाएको किन्नुस् है।

किनकि काठमाडौं महानगरपालिका (कामपा) ले यस्तै खसी–बोका किन्न आग्रह गरेको छ। चाडबाडको मुखमा बिरामी खसी–बोका बिक्री हुन सक्ने आशंका गर्दै कामपाले यसको परीक्षण शुरू गर्ने योजना बनाएकाले सिङमा हरियो लगाएको खसी–बोका स्वस्थ हुने हुँदा यस्तै किन्न अनुरोध गरेको हो।

कामपा कृषि विभाग प्रमुख हरि भण्डारीका अनुसार कृषि मन्त्रालय, पशु चिकित्सक, महानगरपालिका प्रहरी, नेपाल प्रहरीसहितका सरोकारवाला निकायको सहयोगमा घटस्थापनादेखि नवमीसम्म टुकुचा, कलंकी, तीनकुने, बालाजुलगायतका बिक्रीस्थलमा परीक्षण गरिनेछ।
‘स्वास्थ्य परीक्षण गरेपछि स्वस्थ खसी–बोकाको सिङमा हरियो र बिरामीको सिङमा रातो रङ लगाउँछांै।’ –भण्डारीले भन्नुभयो।
भण्डारीले खसी–बोका व्यवस्थापन समिति, व्यापारी र सरोकारवालासँग छलफल गरी व्यापारलाई व्यवस्थित गर्ने तयारी गरिएको जानकारी दिँदै भन्नुभयो– ‘बिक्रीस्थलमा अस्वस्थ देखिएको खसी–बोकालाई तत्काल प्राथमिक उपचार गरिनेछ।

धपेडीले बिरामी भएकालाई पनि प्राथमिक उपचार गराई बिक्रीका लागि राखिनेछ।कामपाका प्रवक्ता ईश्वरमान डंगोलले गत वर्षभन्दा यस वर्ष व्यवस्थित अनुगमन गरिने बताउनुभयो।

कामपा प्रहरी प्रमुख डीएसपी धनपति सापकोटाले परीक्षणलाई कडाइ गरिने बताउँदै मरेको बिक्री गरेको पाइएमा तत्काल कारबाही गर्ने जानकारी दिनुभयो।

कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने रातो रङ लगाएका खसी–बोकाको पुनः परीक्षण गरी खानयोग्य भएमा खान सकिने बताउनुभयो।

कामपाले गत वर्ष राजधानीका विभिन्न चार स्थानमा करिब ४० हजार खसी–बोकाको स्वास्थ्य परीक्षण गर्दा २ सय ५० वटा अस्वस्थ भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्