ब्रेक्जिटमा दोषी भएको क्यामरुनको स्वीकारोक्ति



लन्डन, (एजेन्सी)।बेलायतका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले ब्रेक्जिटमा देखिएको मत विभाजनलाई लिएर खेद प्रकट गरेका छन्।

क्यामरुन कै कार्यकालमा बेलायत युरोपेली संघबाट अलगिने मुद्दामा भएको जनमत संग्रहमा पक्षमा मतदान भएको थियो।

बेलायत युरोपेली संघबाट अलग हुने समयसीमा सन् २०१९ मार्च सम्मका लागि तय भएको थियो तर संसद्मा मत विभाजनका कारण यो प्रक्रिया अहिलेसम्म पुरा हुन सकेको छैन।

पूर्वप्रधानमन्त्री क्यामरुनले एक अन्तरवार्तामा हरेक दिन आफूले बे्रक्जिट जनमत संग्रहका बारेमा सोच्ने गरेको र भविष्यमा के हुन्छ भन्ने कुरामा गहिरो चिन्ता लाग्ने गरेको बताए।

उनले भने– ‘मलाई परिणामलाई लिएर गहिरो खेद छ। र मेरो दृष्टिकोण गलत भएको म स्वीकार गर्दछु।मैले जुन फैसला लिएँ, त्यसैले नै यी असफलतामा योगदान दिइरहेको छ। म असफल भएँ।’ –उनले भने।

ब्रेक्जिटलाई लिएर जनमत संग्रहको समयदेखि नै गहिरिएको मत विभाजनलाई लिएर जनताले उनलाई नै दोषी मान्दै आएको क्यामरुनले स्वीकार गरे।

उनीहरुले उनलाई माफ गर्नेछैन। तर उनले आफ्नो फैसलाको समर्थन पनि गरे। छिट्टै प्रकाशित हुन गइरहेको आफ्नो आत्मकथाको प्रचारका अवसरमा द टाइम्स अखबारलाई लिएको उक्त अन्तर्वार्तामा क्यामरुनले उक्त कुरा बताएका हुन्।

बेलायत युरोपेली युनियन सदस्य रहिरहने पक्षधर क्यामरुनले सन् २०१६ मा भएको ब्रेक्जिट जनमत संग्रहपछि राजीनामा दिएका थिए। त्यतिबेलादेखि उनी चुनाव राजनीतिबाटै टाढिएका छन् र धेरैजसो सार्वजनिक कार्यक्रमबाट पनि टाढै रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्