गाउँपालिकाको केन्द्र सार्ने आशंकामा स्थानीय आन्दोलित



नेपाल समाचारपत्र, बैतडी।डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग राख्दै बैतडीको डिलाशैनी गाउँपालिकाका दुईवटा वडाका सम्पूर्ण कार्यालयमा तालाबन्दी गरिएको छ।

बुधबार वडा नं ४ र ७ का वडा कार्यालयमा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ। संघर्ष समितिले स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय, विभिन्न संघ संस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले पुष्टि गरेको छ।

संघर्ष समितिले दुई दिनसम्म सम्पूर्ण कार्यालय बन्द रहने जनाएको छ। राज्य पुनर्संरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँ कार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेकोले पालिकाको केन्द्र सार्न खोजिएको भन्दै स्थानीय बासिन्दा सशंकित भएका थिए।

गाउँ कार्यपालिकाको उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो।

गाउँपालिकाको उक्त निर्णयको विरोध गर्दै वडा नं ४ र ७ का स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। उनीहरूले संघर्ष समिति गठन गरी यसअघि नै गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।

गाउँपालिका केन्द्र अन्यत्र सारिए जस्तोसुकै आन्दोलनमा जाने स्थानीय दीपकबहादुर धामीले बताउनुभयो। गाउँ कार्यपालिकाको पहिलो बैठकले साविकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले आन्दोलित भएको धामीको भनाइ छ।

वडा कार्यालयलगायत अन्य कार्यालयमा तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प भएको ७ नं. वडा अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो। सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय समस्यामा परेका छन्। संघर्ष समितिले तालाबन्दी गरेपछि उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

तालाबन्दी पश्चात् सुरक्षाको लागि प्रहरी वडा कार्यालयमा पुगेको गोकुलेश्वर प्रहरी चौकीका हबल्दार नरेशसिंह कुँवरले बताउनुभयो। साविकको डिलाशैनीमा गाउँपालिकाको केन्द्र तोकिएको भए पनि विभिन्न कारण देखाउँदै गएको १ वर्षदेखि वडा नं ३ पंसेरामा सम्पर्क कार्यालय स्थापना गरी कामकाज भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्