गाउँपालिका तोडफोड आरोपमा वडाध्यक्ष पक्राउ



नेपाल समाचारपत्र, कास्की।गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा प्रहरीले पक्राउ गरेका कास्कीको माछापुच्छ्रे« गाउँपालिका–१ का वडाध्यक्षसहित दुई जनाको रिहाइको माग गर्दै समर्थहरूले गाउँपालिका कार्यालय घेराउ गरेका छन्। यसरी पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल भनिने टीकाराम पौडेल रहेका छन्।

कार्यालय तोडफोडमा संलग्न रहेको किटानी जाहेरीसहित गाउँपालिकाले उजुरी दर्ता गराएकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो।

गाउँपालिकाको कार्यालय तोडफोडको आरोपमा उनीहरुसहित गाउँपालिकाका प्रमुख पदका प्रत्याशी नेता खुशीमान गुरुङ, स्थानीय कांग्रेस नेता राम गुरुङलगायत चारजनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको गाउँपालिकाका कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले बताउनुभयो।

कानुनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै कांग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए।

उनीहरूले भदौ १२ गते कार्यपालिकाले गरेका निर्णय र आय–व्ययको जानकारी मागेकोमा भदौ २४ गते गाउँपालिकाका सूचना अधिकारी हरिलाल आचार्यले जानकारी उपलब्ध गराउनुभएको गाउँपालिकाले बताएको छ।

सूचना दिँदादिँदै यसरी सार्वजनिक सम्पत्तिको तोडफोट गर्नु दुःखदायी भएको कार्यबाहक अध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्