कांग्रेसको जागरण कार्यक्रम बिद्यालय बन्द गरेर कक्षाकोठामा



दुर्गा प्रसाद शर्मा,पर्वत । नेपाली कांग्रेस पर्वतले बिद्यालय बन्द गरेर कक्षा कोठामा जनजागरण अभियानको कार्यक्रम सञ्चालन गरेको पाइएको छ ।

नेपाली कांग्रेसले पर्वतको महाशिला गाउँपालिका वडा नं ३ बालाकोटस्थित चन्द्रोदय आधारभूत बिद्यालयमा राजनैतिक कार्यक्रम गरेको पाइएको हो ।

दोस्रो चरणको जनजागरण अभियान अन्र्तगत गाउँगाउँमा पुगेको कांग्रेसले बालाकोटस्तरीय कार्यक्रम सोमबार बिद्यालयमा बिद्यार्थीलाई बिदा दिएर सञ्चालन गरेको स्थानिय मोहनबिक्रम पौडेलले जानकारी दिनुभयो ।

उहाँले यस बिषयको स्टाटस सामाजिक सञ्जालमा राखेपछि राजनैतिक कार्यक्रम बिद्यालय बन्द गरेर सञ्चालन गरेको भनेर सामाजिक सञ्जालमा चर्को बिरोध भएको छ ।

बिद्यालयका प्रधानाध्यापक श्याम बहादुर क्षेत्रीले आफुँलाई कार्यक्रम गर्नका लागि अनुमति माग्दा नदिएको तर बिदाको समयमा अन्य शिक्षकले सहमति दिएको बताउनुभयो ।

बिद्यालयमा राजनैतिक दलका सभा, बैठक गन नहुने भन्दै चर्को बिरोध भएको छ ।उहाँले २ बजेपछि बालबिकास केन्द्रका बिद्यार्थीलाई बिदा दिएर कार्यक्रम गरिएको बताउनुभयो ।

घटनाका सम्बन्धमा जागरण टोलीका नेता तथा नेपाली कांग्रेस जिल्ला सभापति खेम प्रसाद भुसालले ४ बजेपछि मात्र कार्यक्रम भएको दाबीगर्नुभयो । उहाँले अन्य दलका कार्यकर्ताले झुटा आरोप लगाएको पनि बताउनुभयो ।

अनेरास्बियुका क्षेत्रिय अध्यक्ष समेत रहनुभएका मोहनबिक्रम पौडेलले भने १ बजेपछि नै जर्वजस्ती विद्यार्थी निकालिएको दाबी गर्नुभयो ।

यसैगरी अभियानमा कुस्मा नगरपालिकाको गाडी प्रयोग गरिएको भनेर पनि सामाजिक सञ्जालमा बिरोध भएको छ । उपप्रमुख सिता काफ्ले लामिछाने समेत अभियानम सहभागी भएकाले उक्त गाडी निरन्तर प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्