आसारा २३ वर्षमा प्रवेश



नेपाल समाचारपत्र, काठमाडौं।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २३औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा बुधबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनाल तथा उक्त केन्द्रकी अध्यक्ष प्रमिला खनालले केन्द्रको स्थापना कालमा महत्वपूर्ण योगदान पुर्याउनुहुने पूर्वप्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवर र केन्द्रकी पूर्वसचिव सुनिता राणालाई सम्मानपत्र प्रदान गर्नुभयो।

साथै प्रहरी महानिरीक्षक खनालले केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्ज, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र ठमेल, जीवन विज्ञान प्रतिष्ठान चाबहिल र चिकित्सक तथा चिकित्सा मनोविद्लाई समेत प्रसंसापत्र प्रदान गर्नुभयो।

यसैगरी प्रहरी महानिरीक्षक खनालले केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरू तथा उत्कृष्ट परामर्शदातालगायतलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो। सो अवसरमा उहाँले उक्त केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण’ को विमोचनसमेत गर्नुभयो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले केन्द्रमा उपचाररत सदस्यहरूले अनुशासित, लगनशील र धैर्यवान भएर उपचार प्रविधि र विधि अनुशरण गरेमा सकारात्मक परिणाम आउने बताउनुभयो।

समाजले प्रहरीले नै सबै काम गरोस् भन्ने अपेक्षा गर्ने भएकाले लागूऔषध दूव्र्यसनमा फसेका व्यक्तिहरूलाई समाजमा पुनःस्थापना गर्न नेपाल प्रहरीले यस्ता केन्द्रहरू थप बिस्तार गर्दै लगेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले केन्द्रले नेपालभरिकै लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न थप उर्जा र सक्रियताका साथ यस्ता सामाजिक कार्यमा अघि बढनुपर्ने बताउनुभयो।

कार्यक्रममा केन्द्रकी अध्यक्ष प्रमिला खनालले लागूऔषध दुव्र्यसनीको विकराल समस्यालाई मध्यनजर गर्दै यस्ता कुलतबाट युवावर्गलाई मुक्ति दिलाउन केन्द्र क्रियाशील रहेको बताउनुभयो।

लागूऔषधसम्बन्धी अपराध व्यवसायिक र संगठित स्वरूपमा बलियो बन्दै गइरहेको अवस्थामा सामूहिक प्रयासले यसविरुद्ध जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्