प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट असक्तलाई चारपाङग्रे स्कुटर हस्तान्तरण



न्युज अफ नेपाल, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त असक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमवीच चारपाङग्रे स्कुटर हस्तान्तरण गर्नुभयो ।
कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले घाइते भई असक्तताका कारण हिँडडुल गर्न कठिन भएका पूर्व प्रहरी निरीक्षक राम बहादुर चन्द र केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पासाङ लामालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त स्कुटर हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले प्राप्त सवारी साधनलाई भरपुर उपयोग गरी जीवन अझै सार्थक बनाउन आग्रह गर्दै समस्या परेको वेला सहयोग गर्न संगठन तयार रहेको बताउनुभयो । असक्त अवस्थामा पनि आँट, साहस र हिम्मतका साथ गरेको संघर्ष प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तपाईहरुको आगामी दिन शुभ रहोस् ।’
नेपाल प्रहरीले आफ्ना सदस्यहरुको पीर, मर्कालाई सम्बोधन गर्ने प्रयास स्वरुप प्रहरी कल्याण कोष मार्फत विभिन्न सेवा सुविधा प्रवाह एवम् कल्याणकारी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सो क्रममा प्रहरी कल्याण कोषले आर्थिक वर्ष २०७५र०७६ को वार्षिक कार्यक्रम अनुसार ३ थान चारपाङग्रे स्कुटर खरिद गरी निस्शुल्क उपलब्ध गराएको हो । उक्त स्कुटरमध्ये १ थान जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक देवी नेपालीलाई प्रदान गरिने छ ।
स्कुटर हस्तान्तरण कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्