कर्मचारी सञ्चय कोषको आम्दानी साढे २९ अर्ब



नेपाल समाचारपत्र, काठमाडौं। कर्मचारी सञ्चय कोषले मंगलवार ५८ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा आयोजित कार्यक्रममा कोषले अहिले काठमाडौं उपत्यकाका विभिन्न ठाउँ तथा सातवटै प्रदेशमा आठ वटा शाखा कार्यालय र तीनवटा सेवा केन्द्र विस्तार गरेको जानकारी दिएको छ।

कोषले आर्थिक वर्ष २०७५/७६ को अवधिमा ऋण तथा लगानीबाट २९ अर्ब ५३ करोड रुपियाँ आम्दानी गरेको जनाएको छ। सरकारी क्षेत्रमा रहेको परम्परागत योगदान रहित निवृत्तभरण प्रणालीको सट्टा योगदानमा आधारित निवृत्तभरण प्रणाली लागू गर्नु महत्वपूर्ण उपलब्धि भएको कोषले जनाएको छ।

कोषले विद्युतीय माध्यमबाट सूचना संकलन गरी २ लाख ५० हजार भन्दा बढी सञ्चयकर्ताको विवरण अध्यावधिक गरिसकेको भन्दै यो अभियान चालु आर्थिक वर्षमा सम्पन्न हुने जनाएको छ।

यस्तै, लगानी व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाएको, कर्जा तथा लगानी नीति, २०७५ कार्यान्वयनमा ल्याएको लगायतका कामहरु गरेको कोषले उल्लेख गरेको छ।

पुँजीबजारका क्षेत्रमा कोषको लगानीलाई प्रवद्र्धन गर्न एक वर्षको अवधिमा नेपाल बैंक लिमिटेड, धितोपत्र विनिमय बजार लिमिटेड लगायत ४ वटा कम्पनीको शेयरमा लगानी गरिएको जनाएको छ।

कोषले सरकारी एवम् सार्वजनिक क्षेत्रको सञ्चय कोष, निवृत्तभरण कोष लगायत सबै प्रकारको सामाजिक सुरक्षाको व्यवस्थापन गर्नेतर्फ ध्यान केन्द्रीत गर्ने बताएको छ।

तीनै तहका सरकार एवम् सार्वजनिक संस्थाका कर्मचारीहरुको निबृत्तभरण, सञ्चय कोष र अन्य सामाजिक सुरक्षाका विषयहरुलाई समेत समेट्ने गरी एकिकृत कानून निर्माण गर्नु आवश्यक भएको समेत कोषले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्