नवीकरणीय ऊर्जाबाट अवसर सिर्जना गर्नेमा जोड



नेपाल समाचारपत्र, काठमाडौं। राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको उपलक्ष्यमा नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री गणेश साहले जनताको बहुआयामिक उत्थानका लागि ऊर्जा प्रविधिको विकास र प्रवद्र्धनको महत्वूर्ण भूमिका हुने भएकाले सरकार, प्राज्ञिक वर्ग, विज्ञ र व्यवसायी हातेमालो गरी सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले परिसंघले विभिन्न सरोकारवालाका साथ सहकार्य कार्य गर्ने तयारी गर्दै आएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका डा. रवीन्द्रप्रसाद ढकाल, व्यवसायी कुशल गुरुङ, ग्रामीण प्रविधि केन्द्रका डा. पुरुषोत्तम श्रेष्ठले नवीकरणीय ऊर्जा प्रविधि विकास र प्रवद्र्धनका लागि अवसर र चुनौतीका साथ अध्ययन, अनुसन्धान र व्यावसायिक चुनौती र समाधानका उपाय साथै हरित तथा समावेशी ऊर्जा कार्यक्रमबाट नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्दै महिला तथा पिछडिएका समुदायका लागि अवसर सिर्जना गरिएको सम्बन्धमा प्रकाश पार्नुभयो।

उक्त अवसरमा प्राडा रमेशकुमार मास्के, प्राडा कृष्णराज श्रेष्ठ, डा. इन्दिरा शाक्य, डा. विश्वभूषण अमात्यलगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो।

नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन र विकासका लागि सहकार्य गर्न परिसंघ र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

उक्त सहमतिपत्रमा परिसंघका तर्फबाट अध्यक्ष गुणराज ढकाल र अनुसन्धान केन्द्रका तर्फबाट कार्यकारी निर्देशक प्राडा रामेश्वर अधिकारीले हस्ताक्षर गर्नुभएको हो।

उक्त अवसरमा परिसंघका अध्यक्ष ढकालले परिसंघले नवीकरणीय ऊर्जा प्रविधि विकास र प्रवद्र्धनका लागि सौर्य विद्युत्, सौर्य तापीय ऊर्जा, बायोग्यास, जैविक ऊर्जा, वायु ऊर्जाका निजी कम्पनी समन्वय गर्दै सरकारी निकाय, दातृ निकाय, विकास साझेदारहरुका साथ सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्