विकासका लागि स्थानीय सरकार र प्रदेश एक हुनुपर्छ ः मुख्य मन्त्री



ललित सिंह, चैनपुर(बझाङ)। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले गर्न सक्ने योजना सञ्चालन गर्न आफू तयार रहेको बताउँदै यसका लागि स्थानीय तह र प्रदेशको समन्वय हुनुपर्ने बताउनुभएको छ।

जिल्ला समन्वय समिति बझाङले जिल्लाको समग्र विकासबारे समीक्षा तथा छलफल गर्न आयोजना गरेको तेस्रो जिल्ला सभा तथा वार्षिक समक्षा गोष्ठीमा बोल्नुहुँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले प्रदेशको विकासका लागि योजनाको खाका बनाएकोमा स्थानीय तहले पनि जनतालाई प्रत्यक्ष फाइदा हुने गरी योजना र कार्यक्रममा बजेट विनियोजन गर्नु पर्ने धारणा राख्नुभयो।

जिल्ला सभामा सहभागी अतिथिले तीन तहको सरकारबाट भएगरेका गतिविधिको उपलब्धि र जिल्लाको समस्याका बारेमा समीक्षा गर्दे सम्पादित कामको बारेमा जानकारी आदान प्रदान गर्नुभएको थियो। जिल्लाका साझा समस्याका बारेमा सबैको एकता र सहयोग हुनुपर्नेमा सबैले जोड दिनुभएको थियो।

जिल्लाको विकासका लागि तिब्बतको नाका खोल्नु पर्ने, जडिबुटीको प्रशोधन गर्नुपर्ने, पर्यटकीय क्षेत्रको संरक्षण सम्बद्र्धन गर्नु पर्ने विषयमा छलफल भएको थियो।

साथै स्थानीय तहमा स्रोत साधनको दुरुपयोग भएको औल्याउँदै वक्ताले जनप्रतिनिधिलाई जवाफदेही हुन सुझाब दिएका थिए ।

दुई दिनसम्म चल्ने जिल्ला सभा तथा वार्षिक समीक्षा गोष्ठीमा दुई नगरपालिका र १० वटा गाँउपालिकाको आर्थिक वर्ष ०७५–०७६ मा सम्पन्न योजना र कार्यक्रमको प्रगति र भावी योजनाको विषयमा छलफल हुने आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्