१ हजार ६ सय गाँजाका बोट नष्ट



नेपाल समाचारपत्र, बैतडी। लागूऔषध विषेश अभियानअन्र्तगत बैतडीमा प्रहरीले ४५ दिने गाँजा नष्ट अभियान सञ्चालन गरेको छ। भदौ १५ गतेदेखि शुरू भएको उक्त अभियान असोज २८ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

गाँजाबाट चरेस बनाएर बिक्री वितरण तथा सेवनले समाजमा नराम्रो असर पार्ने
भएकोले यो अभियान सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ।

गाजाँ नष्ट अभियान जिल्लामा सबै स्थानीय तहमा सञ्चालनमा रहेको बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो। जिल्ला प्रहरी मातहतका प्रहरी युनिटले गाँजा खेती गरिएको अर्थात आफै उम्रेका बोट नष्ट गरिरहेको हो।

प्रहरी युनिटले जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा गाँजा फडानी अभियान जारी राखेको हो । यसका साथै सामुदायिक प्रहरी सेवा केन्द्रले पनि उक्त अभियानमा साथ दिँदै हालसम्म १ हजार ६ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।

यसमा दशरथचन्द नगरपालिकामा ३ सय ५०, पुर्चौडी नगरपालिकामा १ सय ५०, सिगास गाउँपालिकामा १ सय ५०, शिवनाथ गाउँपालिकामा ४ सय, डिलाशैनी गाउँपालिकामा ३ सय ५० र सुर्नया गाउँपालिकामा २ सय बोट गाँजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ।

गाँजाबाट चरेस बनाएर बिक्री वितरण तथा सेवनले समाजमा नराम्रो असर पार्ने भएकोले यो अभियान सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ।

लागूऔषध दुव्र्यशन, ओसार–पोसार तथा बिक्रीवितरण प्रतिबन्धित रहेकोले यसको नियन्त्रणमा जोड दिइएको उहाँले बताउनुभयो।

यसैबीच जिल्ला प्रहरी कार्यालय बैतडीले मानव बेचबिखन तथा ओसार–पसार विरुद्ध जिल्लाका विभिन्न १२ स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल–भारत सीमामा रहेको झुलाघाट बसपार्क, वीरेन्द्र मावि शाहीलेक, गोठालापानी, मेलौली नगरपालिका, मेलौली नगरपालिकाको तितान गाउँ, सिगास गाउँपालिकाको कुल्लेली र दशरथ चन्द नगरपालिकाको देहिमाडौंमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए।

यसका साथै दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र श्रीकेदार, पुर्चौडी नगरपालिकाको हाट, पञ्चेश्वर गाउँपालिका–१ र कुलाउँ बजारमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम तथा अन्र्तक्रिया गरिएका छन्।

कार्यक्रममा भारतसँग सीमा जोडिएको जिल्ला भएकाले बैतडीबाट मानव बेचबिखन हुन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले बताउनुभयो।

यसका साथै युवतीलाई जागिरको प्रलोभनमा पारी बेचबिखन गरिएको घटना प्रकाशमा आइरहने भएकोले त्यसतर्फ पनि सचेत हुन आग्रह गरिएको थियो।

सामाजिक सञ्जालबाट बढी जसो यस्तो घटना बढी हुने भएकोले नचिनेको मान्छेसँग सामाजिक सञ्जालमार्फत कुरा नगर्न सचेत गराइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्