बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्यामा वृद्धि



विमल विष्ट, डोटी। सुदूरपश्चिमको पहाडी जिल्ला डोटीका विभिन्न स्वास्थ्य संस्थाले बथिर्ङ सेन्टर सञ्चालनमा ल्याएसँगै बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको संख्या दिनहुँ बढ्दै गएको छ।

बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि डोटीमा मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको बताइएको छ। पछिल्ला वर्षमा बर्थिङ सेन्टरमै गै सुत्केरी गराउने महिलाको संख्यामा वृद्धि हुँदैगएपछि मातृ तथा शिशु मृत्युदर घट्दै गएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीन्टेन्डेन्ट डा. भूषण मिश्रले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन थालेपछि आमा र बच्चाको मृत्यु दर घटेको छ।’ बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी हुन आउनेको संख्या महिनै पिच्छै बढ्दै जान थालेको स्वास्थ्य कार्यालय डोटीको तथ्यांकले देखाएको छ।

जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। त्यस्तै जिल्लाको विकट क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिकाको घागल तथा बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न क्षेत्रका स्थानीय महिलाले पनि बर्थिङ सेन्टर स्थापना भएपछि अस्पतालमै गएर सुत्केरी हुन रुचाएका छन्।

त्यहाँका स्वास्थ्य चौकीले प्रसूति सेवा सञ्चालनमा ल्याएकोे भए पनि भवन अभावमा प्रसूति गराउन समस्या हुने गरेको स्थानीयवासी चक्र मौनीले बताउनुभयो। उहाँले भन्नुभया– ‘बर्थिङ सेन्टर त खुलेको छ तर भवन अभावमा यहाँका महिलालाई समस्या हुँदै आएको छ, सबैभन्दा पहिला भवन हुनु जरुरी छ।’

स्वास्थ्य संस्थाले सुरक्षित प्रसूति सेवा सञ्चालन गरेसँगै स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने महिलाको संख्या डोटीमा ७३ प्रतिशतले वृद्धि भइरहेको भएपनि सरकारी पूर्वाधारको अभावमा सेवा दिन समस्या परेको स्वास्थ्य कार्यालय डोटीका अधिकृत रमेश मलासीले बताउनुभयो।

उहाँले भन्नुभया– ‘प्रसूति सेवा सुरु गर्नुभन्दा पनि स्वास्थ्य संस्थामा पूर्वाधारको विकास हुनु जरुरी छ, भवन निर्माणका लागि माग गरेका छौं, अब बन्छ होला।’

त्यस्तै जिल्लाका विभिन्न स्थानमा प्रसूति सेवा सञ्चालन भए पनि जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकाको लामीखालमा मात्र बर्थिङ सेन्टर घोषणा गर्न बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले जनाएको छ। लामीखालमा बर्थिङ सेन्टर स्थापनाका लागि पहल भैरहेको स्वास्थ्य अधिकृत मलासीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्