अम्कोट सडक उच्च जोखिममा



बाजुरा, (नेस)। वर्षा मौसममा साफे–मार्तडी सडक खण्ड जहिले पनि अवरुद्ध हुँदै आएको छ। त्रिवेणी नगरापिालका–९ पैंमा र बुढीगंगा नगरपालिकाको अम्कोट वारिपारि पहिरोका कारण साँफे–मार्तडी सडक खण्डअन्र्तगतको अम्कोट सडक सधैंका लागि उच्च जोखिममा छ।

वारिपारिबाट खसेको पहिरोले बुढीगंगा नदी थुनिने र नदी सतहदेखि करिब ३०० मिटरमाथि बाट सडक निर्माण गरेकाले सडक वर्षेनी भासिँदै गएको छ। बलौटेमाटोका कारण अम्कोटको पहिरो रोकिन समय लाग्ने विशेषज्ञको भनाइ छ।

शनिबार रातिबाट साँफे मार्तडी सडकखण्ड पूर्णरुपमा अवरोध भएपछि थप असहजता उत्पन्न भएको छ। शनिबार राति बल्देमा सडकको तलमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध भएको छ।

बाजुरा सदरमुकाम मार्तडीबाट लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका साधान चलेका छैनन्। पहिरो खस्दा सडक अबरुद्ध बनेसंगै यातायातका साधन तथा यात्रुलाई आवागमन गर्न समस्या भएको छ।

पहिरोले बल्दे, अम्कोट पानीनाउलालगायतका ठाउँमा सडक तलमाथि भासिएको छ। पहिरोमा परि कमालामाईको मालबाहक मिनिटाटा बुढीगंगा नदी किनारमा खसेको थियो।

पानी पर्नासाथ सडक भासिने र अस्थायी कामचलाउ सडक निर्माण गरी याताायत सुचारु गरिँदै आएको भए पनि दीर्घकालीन उपाय नभएको भौतिक पूर्वाधार विकास कार्यालय अछाम, बाजुरा प्रमुख जंगबहादुर थापाले भन्नुुभयो।

प्रतिक्रिया दिनुहोस्