हवाई उडान पनि प्रभावित



टीका बन्धन, काठमाडौं।मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा नेपालनजिक सरेपछि सोमबार साँझदेखि सक्रिय बनेको झरी र मौसमी प्रभावको असर हवाई उडानमा समेत परेको छ।

मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानसहित हेलिकोप्टर सेवासमेत प्रभावित भएको छ। जहाज अवतरणका लागि विमानस्थलको ‘भिजिविलिटी’ पर्याप्त नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावित भएको हो।

विमानस्थलको ब्रिफिङ शाखाका अनुसार जहाज अवतरणका लागि ५ हजार मिटर हाराहारीमा रहनुपर्ने भिजिविलिटी घटेर मंगलबार बिहान २ हजार ५ सय मिटर हाराहारीमा झरेको थियो।

सोही कारणले कतार एयरलाइन्स, एयर इन्डिया, एयर चाइना, थाइलाइन, इन्डिगो एयर जस्ता विमान अवतरण हुन नसकेपछि अन्यत्र डाइभर्ट भएका थिए।

विमानस्थल स्रोतका अनुसार एयर इन्डिया र इन्डियो लखनउ डाइभर्ट भए भने एयर चाइना ल्हासा र थाइलान बंगलादेशको ढाका डाइभर्ट भएको थियो।

निरन्तरको झरी र बादलका कारण लुक्ला, पोखरा, भरतपुर जस्ता विमानस्थलको उडान पनि दिनभर प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ।

साँझ ५ बजेपछि मात्रै भिजिविलिटीमा सुधार आएको जल तथा मौसम विज्ञान विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘५ बजेपछिको भिजिविलिटी सात किलोमिटर हाराहारीमा पुगेपछि हवाई सेवा सजिलो भयो, दिउँसोको भिलिविलिटी करिब तीन किलोमिटरमा झरेको थियो।’ –महाशाखाकी मौसमविद् मञ्जु बासीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

त्रिभुवन विमानस्थलमा दैनिक करिब ८० अन्तर्राष्ट्रिय र ३ सयका हाराहारीमा आन्तरिक उडान अवतरण हुँदै आएका छन्। मौसमविद् बासीका अनुसार आज बुधबार पनि मुलुकको मध्य र पश्चिमी भेगको मौसम प्रतिकूल रहनेछ।

भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा भित्रिएपछि सोमबार अपरा≈नदेखि मुलुकका अधिकांश भेगको मौसम प्रभावित बनेको हो।

न्यूनचापीय रेखा औसत स्थानबाट उत्तर दिशातर्फ सरेपछि अहिले मनसुन सक्रिय बनेको अर्का मौसमविद् ससिर श्रेष्ठले बताउनुभयो।

मनसुनको न्यूनचापीय रेखा भारतको राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड आसपासमा रहेको अवस्थामा औसत स्थानमा रहेको बुझ्ने गर्छन्।

यही कारणले कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक मुलुकको पूर्वी, मध्य भेगसहित र पोखरा आसपासका भेगमा मनसुनी गतिविधि सोमबारयता सक्रिय रहेको महाशाखाले जनाएको छ।

स्थानीयस्तरमा विकास भएको मौसमी गतिविधि र भारतको मध्यप्रदेशको उत्तर–पश्चिमी भेग र उत्तर प्रदेशको दक्षिणी भागमा विकास भएको अर्को न्यूनचापीय प्रणालीको प्रभाव पनि नेपालमा परेको बताइएको छ।
बाढीले पार गर्यो खतराको तह

सोमबारदेखिको निरन्तरको झरीपछि चितवन, नवलपरासी, सुनसरी, रुपन्देहीलगायतका क्षेत्रका नदी, खोलामा बाढीको बहावले खतराको तह पार गरेसँगै नदी किनारा आसपासमा बसोबास गर्ने स्थानीयलाई ‘मास एसएमएस’ पठाइएको छ।

नारायणी नदीका जलधार क्षेत्रहरू चितवनको रिउ खोलास्थित बनकट्टा, नवलपुरको डन्डा, चितवनको कल्याणपुर, मकवानपुरको मकवानपुर गढी आसपासमा भारी वर्षा भएपछि एसएमएस पठाइएको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

शाखाकी जलविज्ञ सृष्टि महर्जनका अनुसार सप्तकोशीस्थित चतारा र रुपन्देहीको कपिलवस्तु आसपासका भेगका स्थानीयलाई पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सर्तक रहन आग्रह गर्दै एसएमएस पठाइएको छ।

सप्तकोशी नदी बहने चतारामा खतराको तह ६ मिटर तोकिएको तर मंगलबार बिहान ९ बजे त्यहाँ नदीले सो तह नाघेर ६ दशमलव २२ मिटरसम्म पुगेको महर्जनले बताउनुभयो।

मंगलबार साँझसम्ममा २४ घन्टाको अवधिमा चितवनको रिउ खोला आसपासमा २ सय २५ मिलिमिटर वर्षा भएको छ भने नवलपुरको डन्डामा १ सय ५८ वर्षा भएको छ।

त्यसैगरी चितवनको कल्याणपुर, मकवानपुरको मकवानपुर गढी र रुपन्देहीको सूर्यपुरामा क्रमशः १ सय ५३ दशमलव २, १ सय ४९ दशमलव ८ र १ सय १८ दशमलव ४ मिलिमिटर वर्षा भएको छ।

मौसमविद्हरू २४ घन्टाको अवधिमा कुनै स्थान विशेषमा १ सय ४० मिलिमिटर भन्दा वढी वर्षा भएमा भारी वर्षाका रुपमा बुझ्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्