महासभाको नेतृत्व मन्त्री ज्ञवालीले गर्ने



काठमाडौं, (नेस)। संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी हुन यसपटक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ।

मन्त्री ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय प्रतिनिधि मण्डल शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने तयारीमा जुटेको छ।

मन्त्री ज्ञवालीसहित उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव शंकरदास बैरागीसहितको नेपाली टोली बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीले आगामी असोज १३ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ।महासभाअन्तर्गत एक सातासम्म विभिन्न शीर्षकका उच्चस्तरीय बैठक र छलफल जारी रहनेछन्।

विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, विकासोन्मुख साना टापु मुलुकका प्राथमिकताजस्ता विषयका छलफल सत्र सञ्चालन हुँदै छन्।

जलवायु परिवर्तन, आतंकवाद, अतिवाद, मानव बेचबिखन, अन्तर्राष्ट्रिय अपराध, शरणार्थी समस्याजस्ता विषयमा सहकार्य र साझेदारीका विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्