चार वर्षदेखी सडक स्तरोन्नति नहुँदा खेतजस्तो भएपछि नगरपालिकाले खाल्डाखुल्डी पुर्दै



न्युज अफ नेपाल, काठमाडौं । संघीय सरकारले कालोपत्रसहित सडक स्तरोन्नतिका लागि ४ वर्षअघि बोलपत्र आह्वान गरेको भएपनि काम भएको छैन । गोकर्ण–माइतीनेपाल–भीमदेव–पाखाथोक सडक कालोपत्रका लागि २०७२ सालमै डिभिजन सडक कार्यालय मीनभवनले ठेक्का लगाएको थियो । ३ पटक म्याद थप्दापनि बजेट नभएको भन्दै काम पुरा हुन सकेको छैन । सडक स्तरोन्नति नहुँदा धान रोप्ने खेतको गह्राजस्तो भएपछि गोकर्णेश्वर नगरपालिकाले रू. १८ लाख खर्च गरेर खाल्डाखुल्डी पुर्न थालेको छ ।

स्थानीयवासीका अनुसार सडकमा सवारी चलाउन त परैको कुरा पैदल हिँड्नसम्म नसकिने भएपछि नगरपालिकालाई अनुरोध गरेर चाडबाडअघि मर्मतसम्भारको काम गर्न लगाएको बताइएको छ । दुई निकायले एउटै सडकमा बजेट खर्च गर्दा कामभन्दा बजेट सक्ने खेल हुनसक्छ ।

डिभिजन कार्यालयले करीब पाँच किमीको यो सडकमा १० करोडमा ठेक्का लगाएको थियो । ठेक्का लगाए पनि बिग्रिएको सडक नहेरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका थिए । गत हप्ता नगर प्रमुख सन्तोष चालिसेको लिखित अनुरोधमा सडक मिलाउन पुगेको ग्रेडर काम नगरी फर्किएको स्थानीयवासीले बताए ।

निर्माणको जिम्मा पाएको सीएम विशाला निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णुभाइ श्रेष्ठ आफूले २ करोड ९४ लाखको काम सम्पन्न गरे पनि ९४ लाख भुक्तानी नै नदिएपछि त्यसअघिको काम गर्न नसक्दा सडक अलपत्र बनेको बताउँछन् । ‘डिभिजन कार्यालयमा पटकपटक बजेट माग गर्दा छैन भनेर दिँदैनन्, यस्ता योजना प्रदेशअन्तर्गत गइसक्यो भन्छन्, फाइल भने प्रदेश कार्यालयमा पठाउँदैनन्, म स्थानीयवासी पनि भएकाले काम गरेन भनी गाउँलेले पनि गाली गर्छन्, गुनासो कहाँ राख्ने उस्तै परे कालोसूचीमा राखिदिन्छन्,’ उनले भने ।

ठेक्का लगाउने निकायले अलपत्र छोडेपछि सडकको दूरावस्थाका बारेमा गुनासो लिएर स्थानीयवासी आएकाले मर्मत गर्न बजेट विनियोजन गरेको नगर प्रमुख चालिसेले बताए । पटकपटक ठेक्का लगाएको सडक मर्मतसम्भार गरभन्दा पनि डिभिजन कार्यालयले स्थानीय सरकारलाई नटेरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्