गण्डकीसँग एपीएफ स्तब्ध



नेपाल समाचारपत्र, काठमाडौं।प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल एपीएफलाई स्तब्ध पार्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ।

नयाँबस पार्कस्थित कोर्टमा तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीले एपीएफलाई ३–२ को पाँच सेटमा हराएको हो। पहिलो दुई सेट जितेर विभागिय टोलीले तेस्रो स्थान हात पार्न तय गरिसकेको थियो।

तर बाँकी तीन सेटमा गण्डकीले सानदार खेल देखाएर एपीएफलाई पराजित गरेको थियो। योसँगै गण्डकीले १ लाख रुपियाँ पुरस्कार पनि सुरक्षित गर्यो भने एपीएफले ५० हजारमै चित्त बुझाएको थियो।

गण्डकीलाई खेलमा फर्काउन कप्तान सन्जुविक्रम शाह, याम क्षेत्री र अमृत केसीले उत्कृष्ट प्रदर्शन गरेका थिए। एपीएफले पहिलो सेट २६–२४ ले र दोस्रो सेटमा २५–२३ ले जितेको थियो।

तेस्रो सेट गण्डकीले २५–२१ ले जितेपछि खेलको नक्शा नै परिवर्तन हुँदै गयो। चौथो सेट २५–१९ ले जितेर गण्डकीले निर्णायक सेट १६–१४ ले आफ्नो बनाएको थियो।

प्रतियोगिताको फाइनल खेल भने वर्षाको कारण स्थगित भएको थियो। त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको फाइनल खेल तेस्रो सेट चलिरहँदा वर्षा भएको थियो। १–१ सेट बराबरी भएपछि तेस्रो सेट स्थगित हुन अघि पुलिस २१–१९ को अग्रतामा थियो।

 

प्रतिक्रिया दिनुहोस्