दुई लाखदेखि माथिको भुक्तानीमा चेक काट्नु नपर्ने



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको वित्तीय प्रणाली आधुनिक बन्दै गएको बताउनु भएको छ। नेपाल राष्ट्र बैंकमा आइतबार आयोजित कार्यक्रममा उहाँले विश्वस्तरीय सेवा र सुविधा थप हुँदै गएको बताउनुभएको हो।

राष्ट्र बैंकले शुरू गरेको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) को उद्घाटन गर्दै उहाँले भुक्तानी प्रणालीमा आमूल परिवर्तन भएको बताउनुभयो।

उहाँले यस प्रणालीको शुरूवातसँगै नेपालको भुक्तानी प्रणाली विस्वस्तरीय भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो–‘अब समग्र वित्तीय सेवाप्रति नै सर्वसधारणको विश्वास बढेर जान्छ।’

वास्तविक समयमा भुक्तानी गर्ने झन्झट पनि न्यून हुने भएकाले समग्र वित्तीय सेवाप्रति नै सर्वसधारणको विश्वास बढेर जाने उहाँले उल्लेख गर्नुभयो।

दुई लाखदेखि माथिको भुक्तानीमा चेक काट्नु नपर्ने नेपाल राष्ट्र बैंकले भुक्तानी दिन चेक काट्नुपर्ने बाध्यताको अन्त्य गरेको छ।

आइतबारदेखि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा ल्याएसँगै भुक्तानी दिन चेक काट्नुपर्ने बाध्यताको अन्त्य भएको हो।

राष्ट्र बैंकले दुई लाखदेखि माथिको भुक्तानीमा यो प्रणाली प्रयोग गर्न सकिने बताएको छ। यस प्रणालीबाट कुनै पनि भुक्तानी दिने व्यक्ति वा संस्थाले बैंकमा उपस्थित भइ सामान्य फारम भरेर भुक्तानी अनुमतिका लागि आग्रह गरेको खण्डमा तुरुन्तै भुक्तानी हुने व्यवस्था मिलाइएको छ।

यस्तो भुक्तानी पाँच मिनेटदेखि आधा घन्टाभित्र प्राप्त गर्नेको खातामा जम्मा भइसक्छ। चेकबाट गर्ने भुक्तानीको तुलनामा यो प्रणाली चुस्त र लागतप्रभावी हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘संसारभरी नै डिजिटल भुक्तानीको प्रचलन रहेकोमा नेपालमा पनि यो प्रणालीको प्रयोगबाट सहज, छिटो, छरितो र भरपर्दो भुक्तानी प्रणाली विकास हुने विश्वास लिएका छौं।’

यस प्रणालीअन्तर्गत एउटा बैंकमा रहेको व्यक्ति वा संस्थाको खाताबाट चेकको प्रयोग नगरी एउटा आदेश फारमको भरमा तत्कालै अर्को बैंकमा रहेको अर्को व्यक्तिको खातामा रकम जम्मा वा ट्रान्सफर गर्न सकिने छ।

यसबाट समयको बचत, खर्च कटौती र थोरै समयमा धेरै पटक भुक्तानी दिन सकिने भएकाले मुद्राको गति पनि वृद्धि हुनेछ। स्वचालित प्रकारको भुक्तानी प्रणालीको उपयोगबाट कम जनशक्तिले धेरै कार्य सम्पादन गर्न सक्ने राष्ट्र बैंकको विश्वास छ।

 

 

प्रतिक्रिया दिनुहोस्