प्रधानाध्यापकलाई पैगम्वरको अपमान गरेको आरोप



इस्लामावाद, (एजेन्सी)। पाकिस्तानको एउटा विद्यालयमा सोमबार एकजना किशोर छात्रले आफ्नो हिन्दू प्रधानाध्यापकलाई मुश्लिम धर्मको अपमान गरेको अरोप लगाएपछि शुरू भएको साम्प्रदायिक दंगाको क्रममा प्रहरीले दर्जनौं व्यक्तिलाई गिरफ्तार गरेको छ।

सिन्ध प्रान्तमा निजी विद्यालय सञ्चालन गर्दै आएका ती प्रधानाध्यापकविरुद्ध पैगम्वर मोहमदको अपमान गरेको आरोप लगाइएको छ।

सो आरोपको हल्ला फैलिनासाथ आक्रोसित मुश्लिम भिडले घोतकी शहरस्थित सो विद्यालय, एउटा हिन्दू मन्दिर र पसलहरुमा जथाभावी आक्रमण गरेको थियो।

यसरी मुस्लिम धर्मको विरुद्ध बोलेको आरोपमा ती प्रधानाध्यापकलाई हिरासतमा लिइएको छ। यदि दोषी ठहर भएको खण्डमा उनलाई मृत्युदण्ड हुन सक्छ।

दंगावाजीहरुलाई पनि धर्मविरुद्ध कार्य गरेको कानुनअनुसार अभियोग लगाइएको पाकिस्तानस्थित बीबीसीका पत्रकारहरुले बताएका छन्।

तर हिन्दू मन्दिरमा आक्रमण गर्ने तिनीहरुलाई मृत्युदण्डको सम्भावना नभएको तथा तुलनात्मक रूपमा कमै सँजाय हुने स्थानीय सञ्चार माध्यमले जनाएको छ। दन अखबारले आक्रमणमा संलग्न रहेको अभियोगमा ४३ जनालाई गिरफ्तार गरिएको जनाएको छ।

यसैगरी अन्य थुप्रैलाई पनि दंगाबाजी र चोरीको आरोपमा पक्राउ गरिएको बताइएको छ। स्थानीय प्रहरी फौजका अतिरिक्त प्रहरी महानिरीक्षक डा. जमिल अहमदले ट्विट गरेका छन्– ‘घोतकीको यस अत्यन्तै संवेदनशील घटनामा मुछिएकाहरु अहिले प्रहरी हिरासतमा छन्।

घटना भएको १२ घन्टाभित्रै घातकीको स्थितिलाई सामान्यै अवस्थामा फर्काइएको छ। सत्य र तथ्यलाई विश्वस्त पार्नका लागि निष्पक्ष ढंगले अनुसन्धान भइरहेको छ।’

कटरपन्थी राजनीतिज्ञहरुले यस कानुनको प्रायशः समर्थन गर्ने गरेका छन्। यस घटनालगत्तै सामाजिक सञ्जालमा थुपै्र टिप्पणी शुरू हुनुका साथै पाकिस्तानको धर्मको अपमानविरुद्धको कडा कानुन सम्बन्धमा पुनः बाक्लो बहश छेडिएको छ। पाकिस्तानको मानव अधिकार आयोगले यस हिंसाको विरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्