वर्षाले मध्यपहाडी लोकमार्गको कालोपत्रे गर्ने कार्य प्रभावित



दुर्गाप्रसाद शर्मा, पर्वत। भदौको तेस्रो सातादेखि शुरू भएको निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहको पुष्पलाल मध्यपहाडी लोकमार्गको गण्डकी प्रदेश खण्ड निर्माण कार्य पूर्णरूपमा प्रभावित भएको छ।

लगातारको भदौरे झरीका कारण लोकमार्गको पर्वतदेखि कास्की खण्डमा शुरू भएको कालोपत्रे गर्ने कार्य प्रभावित बनेको हो। कालोपत्रे शुरू भएको बेला झरी परेपछि कामकाज ठप्प भएको छ।

मध्यपहाडी क्षेत्र भएर नेपालको पूर्व पश्चिम जोड्ने गरी निर्माण शुरू गरिएको लोकमार्गको गण्डकी प्रदेश खण्डमा पर्ने गोरखाको आरुघाटदेखि बागलुङको निसी खोलासम्मको करिब ३ सय ५३ किलोमिटर सडक निर्माण कार्यलाई तीव्र पारिएको थियो।

लोकमार्गमा सबैभन्दा महत्वपूर्णरूपमा हेरिएको पोखरा–बाग्लुङ सडक खण्डमा दशैं अगाबै धेरै स्थानमा कालोपत्रे गर्ने तयारी थालिएको थियो।

पर्वतको मालढुंगादेखि कुस्मासम्म ८ किलोमिटर र कास्कीमा पर्ने नयाँपुलदेखि काँडेसम्म १५ किलोमिटर कालोपत्रे गर्ने काम दशैं अगावै सक्ने तयारी भए पनि झरीका कारण प्रभावित बनेको मध्यपहाडी लोकमार्ग आयोजना, पर्वतका प्रमुख आशिष थापा मगरले बताउनुभयो।

‘दशैं अगावै १५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्न तयारी अवस्थामा थियौं’, उहाँले भन्नुभयो, ‘दुई सातादेखि परेको पानीले कालोपत्रे गर्न त दिएन, तयार पारिएको सडक–खण्डमा सवारी साधन फस्ने समस्या भयो।’ दसैं अवागै नयाँ र पुरानो गरी कम्तीमा २० किमी सडक कालोपत्रे गर्ने लक्ष्य पूरा नहुने उहाँको भनाइ छ।

पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको साढे २३ किलोमिटर सडकमा मालढुंगादेखि जिल्ला प्रहरी कार्यालय पर्वत सम्मको ८ किलोमिटरमा दसैं सम्म कालोपत्रे गर्ने तयारी भए पनि कम्तिमा ७ कलोमिटर कालोपत्रे गर्नका लागि सबै तयारी गरेर बसेको निर्माण कम्पनी लामा कन्ट्रक्सनका प्रतिनिधि दयाराम थापाले बताउनुभयो।

‘एकहप्तादेखि तयारीमा थियौं तर काम नै गर्न पाएका छैनांै’, उहाँले भन्नुभयो ‘अहिले काम गर्ने तय ारीमा हुँदा मौसम बाधक बन्यो, अझै मौसममा सुधार भएमा सात किलोमिटर सक्ने लक्ष्य छ।’

कास्कीको नयाँपुलदेखि घट्टेखोलासम्म सडक कालोपत्रे गर्ने जिम्मा लिएको एपेक्स कन्स्ट्रक्सनका प्रतिनिधि काशीराज बोहरा मौसमका कारण कालोपत्रे गर्ने भन्दा पनि हिलोमा सवारीका साधन फस्ने समस्या बढेको भन्दै चिन्ता ब्यक्त गर्नुहुन्छ।

उहाँका अनुसार मौसममा सुधार आउने संकेत देखेर नयाँपुलदेखि काँडेसम्म सबै सडक कालोपत्रे गर्न खनिएको सडकमा फेरि सवारीका साधन रोकिने समस्या देखिएको छ।

पानी नपरेको अवस्थामा ४ किलोमिटरमा दोस्रो चरणको कालोपत्रे सक्ने र बाँकी ७ किलोमिटरमा प्रथम चरणको कालोपत्रे योजना थियो।

‘पूर्णरूपमा वर्षा नरोकिएका कारण कालोपत्रे गर्न तयार भएको सामग्रीसमेत फाल्नुपर्ने अवस्थामा आएको छ’–बोहराले भन्नुभयो, ‘हिउँदमा पनि वर्षा भएर काम गर्न सकिएन, वर्षा सकिने बेलामा पनि फेरि भदौरे झरीले काम नै रोक्यो।’ लोकमार्गको पोखरादेखि मालढुंगा खण्ड चार खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्