विश्वकर्मा पूजाका लागि मूर्ति तयारी तीव्र



नेपाल समाचारपत्र, सर्लाही।विश्वकर्मा पूजा नजिकिएसँगै सर्लाहीमा मूर्तिको व्यापार बढेको छ। मुख्य चाडपर्व शुरू भइसकेकाले यहाँका कालीगढलाई अहिले मूर्ति बनाउन भ्याई नभ्याई भएको छ। उनीहरूले अहिले माटोबाट विश्वकर्मा बाबाको मूर्ति तयार पारेर रङरोगन गरिरहेका छन्।

असोज १ गते हुने विश्वकर्मा पूजाका लागि अहिलेसम्म ५७ वटा मूर्तिको माग भइसकेको बरहथवाका मूर्तिकार दिनेश पण्डितले बताउनुभयो। विश्वकर्मा पूजा, जितिया पूजा र बडा दसैंका लागि दुर्गा भगवती मूर्ति बनाउनका लागि भारतबाट समेत नेपाल आएका कालीगढ छन्।

कालीगढले समय र मागअनुसार विभिन्न देवदेवीका बाहनसँगै दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवी देवताका मूर्ति तयार पार्नेगर्छन्। मूर्ति निर्माणपछि कालीगढले त्यसलाई आवश्यकता अनुसार रङरोगन गरेर बिक्री गर्ने गरेका छन्। त्यसरी बनाएका देवी देवताका मूर्ति ३ हजार रुपियाँ सम्ममा बिक्री हुने गरेको छ।

एउटा मूर्ति तयार पार्न एक दिन लाग्ने मूर्तिकार बताउँछन्। उनीहरूले मूर्ति बनाउन चाहिने आवश्यक औजार र सजाबटका सामग्री भारतबाटै लिएर आउने गर्छन्।

विश्वकर्मा पूजा सकिएलगत्तै मुर्तिकार दसंैका लागि दुर्गा भगवतीसहित विभिन्न देवी देवताका मूर्ति बनाउने काममा लाग्ने बताउछन्। उनीहरूले साना मूर्तिहरू घरमा नै बसेर बनाए पनि ठूला मूर्ति मेला गएरै बनाउने गरेको बताएका छन्।

ठूलो मूर्ति बनाउन समय लाग्ने भएकाले १५ दिन पहिलेदेखि नै मूर्ति तयार शुरू गर्ने उनीहरू बताउँछन्। यसरी बनाएका ठूला मूर्तिहरू १५ हजार देखि ३० हजार सम्ममा बिक्री हुने कालीगढह बताउँछन्।

विश्वकर्मा पूजाका लागि कालीगढले जिल्लको मलंगवा, बरहथवा, हरिवन, लालबन्दी, ईश्वरपुरलगायतका स्थानमा मूर्ति बनाएर बिक्री गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्