दशैंको मुखमा वर्षाका कारण सडक अवरुद्ध



विमल विष्ट,डोटी।तीन दिनदेखिको लगातारको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भएका छन्।

लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकहरूमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दीपायल डोटीले जनाएको छ।

ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन्। पहिरोका कारण केआईसिंह गाउँपालिकाबाट बोगटान फुड्सिलसम्म जाने कच्ची मार्गमासमेत दुई दिनदेखि यातायात सञ्चालन हुन नसकेको स्थानीय सुमन भट्टले बताउनुभयो।

उहाँले भन्नुभयो,‘केआईसिंह बोगटान फुड्सिल सडकको काफली भन्ने ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ, पानी परिरहेकोले सडक खुलाउन सकिएको छैन।’

त्यस्तै जिल्लाको मौवा मेल्लेक सडक खण्डका विभिन्न ठाउँमा पनि वर्षा पछि आएको पहिरोले गर्दा यातायातका साधन चलाउन समस्या भएको शैलेश्वरी यातायात समितिका रुट ईन्चार्ज प्रेमबहादुर रावलले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘लगातारको वर्षाले विभिन्न ठाउँमा पहिरो आउँदा पहिरो पन्छाउन समस्या भएकाले यातायात सञ्चालन गर्न समस्या भएको छ।’

त्यसैगरी दीपायलदेखि गडसेरा जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा यातायातका साधन नचलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जनाएको छ।

जिल्लाका बीपीनगर–गड्सेरा, सिलगढी–झिग्राना, शान्तिनगर–नारी–दाङ, मौवा–सायल, तल्कोट–धुर्कोट सडकहरूमा समेत पहिरो र पानीले गर्दा यातायात सञ्चालनमा कठिनाइ भएको यातायात व्यवसायी बताउँछन्।

पहिरोले गर्दा ग्रामीण सडकमा यातायात सञ्चालन गर्न निकै समस्या भएको शैलेश्वरी यातायात समितिका जिप चालक मदन विकले बताउनुभयो। उहाँले भन्नुभयो, ‘ठाउँ ठाउँमा पहिरोले सडक पुरिएका छन्, कति बेला कहाँ के हुन्छ थाहै छैन।’

अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेका कारण पनि सडकह भासिने र भत्किने बढी सम्भावना भएको डिभिजन सडक कार्यालय दीपायल कुल्पातेका डम्वर विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सडकमा नाली छैन। पानी जम्मा भएर सडक नै भत्काउने र पहिरो खस्ने गरेकोले यहाँका ग्रामीण सडकमा समस्या भएको हो।’ यहाँ सञ्चालनमा रहेका बुडर–जोरायल, बीपीनगर–सुवाखान, अत्तरकाडा, बागछेडालगायतका सडकको यात्रा पनि भगवानको भरोसामा चल्दै आएको छ।

साघुँरा सडक तथा डोजर अपरेटरका सनकका भरमा काटिएका यहाँका ग्रामीण सडकमा यातयातका साधन चलाउन निकै समस्या हुँदै आएको महाकाली यातायात समितिका दीपायल प्रमुख धनबहादुर बोहराले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘बिना नाप नक्साका सडक छन्, एउटा बससमेत बल्ल तल्ल चलाउन मिल्छ, त्यसैमाथि पहिरोले झन् बिजोग पार्छ।’

सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट ग्रामीण भेगका लागि छुट्ने आधा दर्जन जिप ग्रामीण सडक अवरुद्ध हुँदा चल्न पाएका छैनन्।

हिउँदमा एक घण्टामा पुगिने ठाउँमा अहिले कम्तिमा पनि तीन घण्टा लाग्ने गरेको चालकको गुनासो छ।
वर्षा लागेपछि वर्षेनी यहाँका ग्रामीण क्षेत्रका अधिकांश सडकमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने भए पनि त्यसको समस्या समाधानका लागि कसैले पनि ठोस कदम नचालेको बडीकेदार गाउँपालिकाका स्थानीय रोजबहादुर कलेलले आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, ‘वर्षामा ग्रामीण सडक अवरुद्ध हुन्छन् भन्ने सबै निकायलाई जानकारी नै छ तर पनि त्यसको समाधानका लागि कसैले पनि पहल गर्दैनन्।’

गाउँका सडक अवरुद्ध भएपछि अहिले स्थानियबासीलाई जरुरी कामका लागि सदरमुकाम सिलगढी आउन दुईदेखि तीनदिन लाग्ने गरेको छ।

पहिरोले अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर सवारी साधन गुड्ने बनाउनेतर्फ आफूहरूले पहल गरिरहेको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो। पहिरो खसेको ठाउँमा डोजर लगाएर पहिरो हटाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्