सहर सफाइका लागि जेट मेसिन



काठमाडौं, (नेस)। सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ। १ सय ३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५ हजार लिटर क्षमताका हुन्।

५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट््यांकी छन्। यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानुपर्दैन।

हरेक वर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसरमा पारेर जेट मेसिनहरू प्रयोगमा ल्याइएका हुन्। मेसिनमा रहेको हाइ प्रेसर पम्प र १ सय २० मिटरको जेटिङ पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिन्छ।

जेटमा भएको स्प्रे गनले बिरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ।
काठमाडौंको शान्ति वाटिकाको सफाइमा पहिलोपटक प्रयोग गरिएका यी मेसिनले सञ्चालन शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौतिक सामग्रीले मात्र सहरको सफाइ सम्भव नहुने बताउँदै सबैभन्दा ठूलो कुरा मानसिकता रहेको बताउनुभयो।

फोहोर व्यवस्थापनप्रति जिम्मेवारी बोध गर्ने हो भने थोरै उपकरणले पनि सरसफाइलाई दिगो बनाउन सकिन्छ।
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नागरिकले महसुस गर्ने गरी सफा सहर बनाउन हतार भइसकेको बताउनुभयो।

‘हाम्रो काम गर्ने शैलीमा पनि केही परिवर्तन गर्नुपर्छ’, उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो– ‘सडक बढारेर ढलको मुखमा लगेर थुपार्नु हुँदैन। यसले सडक एकछिनलाई सफा होला तर ढल थुनिएर अर्को समस्या सृजना हुन्छ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले दिवसमा गरिएको कार्यक्रम र त्यस कार्यक्रममा सहभागी मानिसको संख्या हेरेर नभई त्यसपछि पर्ने प्रभावलाई हेरेर कार्यक्रमको मूल्यांकन गर्नुपर्ने धारणा राख्नुभयो।

यसबीच सरसफाइ दिवसको अवसर पारेर महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाइमा सवै वडा क्षेत्रमा विशेष सरसफाइ गरिएको थियो।

वडाध्यक्षको अगुवाइमा वडा क्षेत्रमा र केन्द्रको अगुवाइमा रत्नपार्क रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजारसम्मको क्षेत्रमा सफाइ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्