सहयोगी हातलाई सम्मान



भक्तपुर, (नेस)।एक महिनासम्म मनाइने धार्मिक गुँला पर्व सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सहयोगी हातहरूलाई सम्मान गरिएको छ। नेवाः ऐतिहासिक सांस्कृतिक भजन खल नगदेशले पुखुसीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

सो अवसरमा मध्यपुर थिमिका प्रमुख मदनसुन्दर श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाली कांग्रेसका नेता अष्ट कबेलगायतले पर्व सम्पन्न गर्न आर्थिक भौतिक सहयोग गर्ने दुई दर्जनभन्दा बढी संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको आयोजक संस्थाका दिनेश घजुँले बताउनुभयो।

परापूर्वकालदेखि शाक्य, बज्राचार्य, मानन्धरलगायतका समुदायले मनाउने सो पर्व गत साउन २७ गतेदेखि शुरू भएको थियो। यो पर्व गुँलाथ्व पारु (साउन शुक्ल परेवा) देखि शुरू भएपछि यँलाथ्व पारु (भाद्र शुक्ल परेवा) सम्म एक महिनासम्म विभिन्न धार्मिक तीर्थस्थलमा जाने र धार्मिक कार्य गरेर मनाइएको थियो।

यो पर्वमा प्रत्येक दिन नौबाजा बजाएर चैत्य तथा मन्दिर परिक्रमा गरिने, एक महिनासम्म व्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ। दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोचारण गरेर मठमन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ।

गुँला पर्व भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर थिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ। थिमिका प्रजापति समुदायले निकालेको गुँला बाजासहित धार्मिक यात्रा गर्ने क्रममा अन्तिम दिन ललितपुरको बुङमति, कार्यविनायक, खोकना, चोभारको जलविनायक, आदिनाथको यात्रा गरी सम्पन्न भएको मध्यपुर थिमि नगदेशका स्थानीय दिनेश घजुँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्