रातो टीका निधारमा नयाँ भर्सनमा



निर्माता, निर्देशक तथा अभिनेता अशोक शर्माले विजया दशमीको अवसर पारेर आगामी असोज १० गते रिलिज हुने आफ्नो पछिल्लो फिल्म रातो टीका निधारमाको गीत सार्वजनिक गरेका छन्।

शर्माले आफ्ना पुत्र अंकित शर्मालाई नायकका रूपमा डेब्यु दिएको फिल्मको शीर्ष गीत रातो टीका निधारमा टलक्क टल्कियो हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा अंकितका साथ अभिनेतृ साम्राज्ञीराज्यलक्ष्मी शाहले नृत्य गरेकी छन्। भिडियोमा अंकित र साम्राज्ञी दुवैको नृत्य आकर्षक लाग्छ।

यो गीत अशोकले आफ्नै सुपरहिट फिल्म अल्लारेबाट लिएका हुन्। रातो टीका निधारमा भने यसलाई रिमेक भर्सनका रूपमा प्रयोग गरिएको छ। यसअघि अल्लारेमा रहेको यो गीतमा राजेश हमाल र करिश्मा मानन्धरले नृत्य गरेका थिए।

रातो टीका निधारमाको नयाँ भर्सनको गीतमा भने अंकित र साम्राज्ञीसँगै बुद्धि तामाङ, नीता ढुंगाना, रवीन्द्र झा, जयनन्द लामा, वसुन्धरा भुषाल, खुश्बु खड्का, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकारले पनि नृत्य गरेका छन्।

गीतको पहिलो भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो भने अहिले पुनः रेकर्ड गरिएको गीत प्रमोद खरेल र मेलिना राईले गाएका छन्।

दुवै भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको संगीत र सहदेव ढुंगानाको गीत रचना रहेको छ। गीतको भिडियोमा दशैंका विविध पक्षलाई समेत समेटिएको छ।

गीतको भिडियो वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन्। गीतले युट्युबमा दुई दिनमा १० लाखभन्दा बढी भ्युज पाएको छ भने ट्रेन्डिङमा उत्कृष्ट १० भित्र पर्न सफल भएको छ।

किरण शर्मा र कृति शर्माद्वारा निर्मित फिल्ममा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्