विप्लवका झापा सेक्रेटरीसहित दुई पक्राउ



नेपाल समाचारपत्र, भद्रपुर।झापा प्रहरीले बिर्तामोडबाट विप्लव नेतृत्वको नेकपाका दुई जना नेतालाई पक्राउ गरेको छ।सोमबार बिहान प्रहरीले झापा जिल्ला सेक्रेटरी मनीष भनिने प्रविन मिश्र र अर्का जिल्ला सदस्य टीका पोखरेललाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

उनीहरूलाई बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयको नजिकै रहेको चिया पसलबाट सादा पोसाकमा रहेका प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ।

केही समयदेखि झापाको बिर्तामोडलाई सेल्टर बनाउँदै आएका मिश्र र पोखरेललाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ।

मिश्र र पोखरेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जानकारी प्रहरीले दिएको छ। विप्लव नेतृत्वको नेकपाले केही दिनअघि बिर्तामोड नगरपालिका ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा बम विस्फोट गराएको थियो।

सोही समूहले सहारा नेपालको बिर्तामोडमा रहेको मुख्य कार्यालयमा बम विस्फोट गराएको थियो।प्रहरीले भने उनीहरूलाई पक्राउ गरेको अस्वीकार गरेको छ।

झापा प्रहरीका प्रवक्ता महेन्द्र श्रेष्ठले नेकपाका नेता पक्राउबारे ‘जिल्लामा रेकर्ड नभएको’ भन्दै सूचना दिन आनकानी गर्नुभयो।

उहाँले पक्राउ बारे आफूलाई केही थाहा नभएको बताए पनि सेक्रेटरी मिश्र र सदस्य पोखरेललाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्