दशैंअघि नै नारायणीमा जहाज



रोशन पराजुली, हेटौंडा।नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो।

रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाज निर्माणको अन्तिम चरणको काम भइरहेको छ। दैनिक १८ घन्टासम्म काम गरी दशैंअघि नै जहाज सञ्चालन गर्ने तयारी छ।

नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सिंगापुर र भारतका प्राविधिकले एक वर्षसम्म जलप्रवाह मापन तथा अन्य चुनौती अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन गरेका थिए।

पानीजहाज निर्माणका लागि करिब २५ करोड खर्च अनुमान गरिएको छ। भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेली प्रविधिमा पानीजहाज निर्माण गरिरहेको छ।

एकपटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज तीन तला, १ सय फिट लम्बाइ र २५ फिट चौंडाइको हुनेछ।तीन सिफ्टमा क्रुज सञ्चालनको तयारी गरेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले ब्रेकफास्ट खाँदै नदीमा शयर गर्न चाहनेलाई ब्रेकफास्ट क्रुजको मज्जा दिनेछ।

अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज गराउने तयारी रहेको बताएको छ। प्रत्येक क्रुजिङ करिब तीन घन्टाको हुनेछ।

रिभर क्रुजले नारायणी किनारलाई सधंै चलायमान गराउने निर्माण कम्पनीको दाबी छ। क्रुज र सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिंदै विशेष सावधानीसाथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक कँडेलले बताउनुभयो।

क्रुज सिप सञ्चालनका लागि आवश्यक क्र्यु मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन्। दीर्घकालीन रुपमा नेपाली जनशक्ति उत्पादनका लागि तालिम केन्द्र सञ्चालन गर्ने योजनामा कम्पनी छ।

जहाज निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्ड्डुअरले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुरलगायत देशमा सफलतापूर्वक काम गरिसकेको छ।नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो।

पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट–गोेलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको छ।
पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाटसम्मको यात्रा पूरा गर्न तीन घण्टा लाग्नेछ।

 

प्रतिक्रिया दिनुहोस्