पुलिस र आर्मीबीच फाइनलमा प्रतिस्पर्धा हुने



नेपाल समाचारपत्र, काठमाडौं। प्रथम प्रकाश दाहाल प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस र नेपाल आर्मीबीच फाइनल हुने भएको छ।

गोंगबुस्थित नयाँ बसपार्कको ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको दोस्रो सेमिफाइनल खेल पुलिसले जितेपछि आर्मीसँग उपाधि भीडन्त गर्ने पक्का गरेको हो। पुलिसले नेपाल एपीएफलाई संघर्षरत ५ सेटमा हराएको हो।

शुरूआती दुई सेट २५–२१, २५–२० ले जितेपछि खेल एकोहोरो हुने संकेत भएको थियो। तर एपीएफले तेस्रो र चौथो सेट जित्दै खेल पुनरागमन गर्यो।

तेस्रो सेट एपीएफले २५–२० ले जितेपछि खेलले रोमाञ्चक वातावरण सिर्जना गरेको थियो। अझ चौंथो सेट २५–२१ ले जितेपछि एपीएफले पुलिसलाई कडा चुनौती पेस गरेको थियो। तर निर्णायक सेटमा पुलिसले १६–१४ ले जितेपछि फाइनलको प्रवेश पक्का भएको थियो।

फाइनल खेल आज हुँदैछ। यसअघि शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटमा हराएर फाइनलको यात्रा तय गरेको थियो। सोही दिन पुलिस र एपीएफबीचको खेल खराब मौसमकै कारण स्थगित भएको थियो।

प्रगतिशील युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको तेस्रो स्थानको खेल पनि सोमबारनै हुने छ। प्रतियोगिताको विजेता ५ लाख रुपियँँ र दोस्रो हुने टोलीले ३ लाख रुपियँँ प्राप्त गर्नेछ।

प्रतियोगितामा आठ टोलीको सहभागिता थियो। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका स्वर्गीय पुत्र प्रकाश दाहालको स्मृतिमा प्रतियोगिता आयोजना भएको हो

प्रतिक्रिया दिनुहोस्