ट्युनिसियामा क्रान्तिपछिको दोस्रो राष्ट्रपतिय चुनाव



ट्युनिस, (एजेन्सी)।सन् २०११ मा अरब वसन्त क्रान्तिमा तत्कालीन राष्ट्रपति वेन अलिलाई अपदस्थ गरिए यता ट्युनिसियामा दोश्रो स्वतन्त्र राष्ट्रपतीय चुनाव आइतबार शुरू भएको छ।

नोभेम्बरमा हुनुपर्ने चुनाव गत जुलाईमा पहिलो प्रजातान्त्रिक ढंगले निर्वाचित राष्ट्रपति बेजी काइद एस्सेब्सीको निधन भएपछि स्थगित हुन पुगेको हो।

एस्सेब्सीले सन् २०१४ मा सत्ता सम्हालेका थिए। दुईजना महिलालगायत २६ जना उम्मेद्वारले यस चुनावमा प्रतिस्पर्धा गर्दैछन्।

यसलाई विश्वकै सबैभन्दा कान्छो प्रजातन्त्रको परीक्षणको रूपमा हेरिँदैछ। एस्सेब्सीले सन् २०१४ मा ट्युनिसियाको पहिलो स्वतन्त्र चुनाव जितेका थिए।

आफ्नो पाँच वर्षीय कार्यकालमा मुलुकमा स्थिरता कायम गरेको श्रेय उनले पाएका थिए। ९२ वर्षको उमेरमा निधन हुँदा उनले विश्वकै सबैभन्दा वृद्ध कार्यकालका राष्ट्रपति बनेर कीर्तिमान पनि कायम गरेका थिए। तर उनले पुन दोस्रो कार्यकालका लागि चुनाव नल्डने मनसाय बनाइसकेका थिए।

एस्सेब्सीकी पत्नी चाललिया साइदा फारहातको ८३ वर्षको उमेरमा आइतबार नै निधन भएको उनका पुत्रले फेसबुकमार्फत जानकारी गराएका छन्।

अहिले ट्युनिसियामा संसद् सभामुख मोहमद एन्नासेउरले अन्तरिम राष्ट्रपतिको भूमिका निभाइरहेका छन्। चुनाव जित्नका लागि प्रतिस्पर्धी उम्मेद्ववार मध्ये एकजनाले बहुमत हाँसिल गर्नु आवश्यक रहेको निर्वाचन आयोगले जनाएको छ।

संविधानमा उल्लेख भएअनुसार ट्युनिसियाका राष्ट्रपतिको रक्षा विषय, परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा अधिकार र संसद्बाट चुनिने प्रधानमन्त्रीको अन्य क्षेत्रमा अधिकार र नियन्त्रण रहन्छ। संसदीय निर्वाचन भने आगामी अक्टोबरमा हुने भएको छ।

प्रजातन्त्र पुनस्थापनाका लागि ट्युनिसियाबाट शुरू भएको अरब वसन्त क्रान्ति मध्यपूर्व र उत्तर अफ्रिकामा फेलिएको थियो। ट्युनिसियामा साइकलमा फुटपाथमा फलफूल बेच्दै हिँड्ने एक गरिब व्यक्तिले आत्मदाह गरेपछि सो क्रान्तिको बीजारोपण भएको थियो।

सरकारी अधिकारीले आफ्नो सामान जफत गरेको विरोधमा उनले आत्मदाह गरेका थिए। ट्युनिसियाकै इतिहासमा पहिलो पटक यसै महिनामा राष्ट्रपतिय उम्मेद्वारहरुबिचको बहस कार्यक्रम सरकारी टेलिभिजनले प्रशारण गरेको थियो।

तर पछिल्ला केही वर्षमा यस मुलुकमा कट्रपन्थी इस्लामिक समूहको आक्रमण, आर्थिक र बेरोजगार समस्याहरु देखापरेका छन्। सन् २०१८ मा सरकारको कडा नियम कानुनका विरुद्ध प्रदर्शनकारी सडकमा ओर्लेका थिए।

हालै प्रधानमन्त्री युस्सेफ चाहेदले यसद ट्युनिसियामा प्रजातनत्रको जगलाई अझ मजबुत बनाउने हो भने आर्थिक अवसरमा सुधार ल्याउनै पर्ने कुरा अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्