दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम तीव्र गतिमा



रामधन राई, खोटाङ।खोटाङस्थित दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार लगानीमा शुरु गरिएको कालोपत्रेको काम ४५ प्रतिशत बढी सम्पन्न भएको हो।

करिब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताउनुभयो।

कालोपत्रे गर्नका लागि आवश्यक सबै सामग्री तराईबाट ल्याइसकिएको खत्रीको भनाइ छ। तोकिएकै समयमा काम सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी कालोपत्रेको कामलाई तीव्रता दिइएको उहाँले जनाउनुभयो।

१८ महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी गत असोज १ गते प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो।

दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सो सडक ६ दशमलव २५ मिटर चौडाइ रहने र ३ दशमलव ७५ मिटर भाग कालोपत्रे गरिने सम्झौतामा उल्लेख छ।

दशंैअघि कम्तिमा पनि छ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको प्रबन्ध निर्देशक खत्रीले बताउनुभयो।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने उक्त सडकलाई निक्कै महत्वमा साथ हेरिएको छ।

यसअघिसम्म हिउँदको समयमा छ महिनामा मात्र सञ्चालन हुने सो सडक ढिलै भए पनि कालोपत्रेको काम थालिएपछि जिल्लावासी हर्षित भएका छन्। दिक्तेलबजारबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थल सोही सडक खण्डको खाल्लेमा पर्छ।

प्रतिक्रिया दिनुहोस्