भ्रमण वर्ष शुरू हुन तीन महिना बाँकी

पर्यटकीय जिल्ला इलाममै हालसम्म छैन बजेट र कार्यक्रम



गणेश घिमिरे,इलाम।सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउँदै २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ। यो लक्ष्यलाई पूरा गराउन संघीय सरकारसहित तीनै तहको सरकार लागिरहेको छ।

प्रदेश र स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम गरिरहेको छ। तर प्रदेश नम्बर १ को इलाममा भने पर्यटनको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायलाई भ्रमण वर्षलाई लक्षित गरेर हालसम्म संघीय र प्रदेश सरकारले हालसम्म केही कार्यक्रम र बजेटसमेत नपठाएको पाइएको छ।

जसले गर्दा इलामसहित मेची पहाडका तीन जिल्ला पाँचथर, ताप्लेजुङमा पर्यटनको क्षेत्रमा काम गर्दै आएको नेपाल सरकारअन्तर्गतको मेची पहाडी क्षेत्र पर्यटन पवद्र्धन विकास समितिको कार्यालय अन्योलमा परेको छ।

पर्यटनकै क्षेत्रमा काम गरीरहेको कार्यालयलाई हालसम्म संघीय र प्रदेश सरकार दुवैबाट भ्रमण वर्षको अवधिमा के के काम गर्ने भनेर कार्यक्रम र बजेट नआउनु अचम्म भएको कार्यालयका योजना अधिकृत सञ्जिव पौडेलले बताउनुभयो। भ्रमण वर्ष शुरू हुन करिब तीन महिनामात्र बाँकी छ।

अहिलेसम्म कार्यक्रम र बजेट केही नआउँदा अब के गर्ने भन्ने बारेमा अन्योलमा परेको पौडेलको भनाइ छ। कार्यालयले अहिले आफै भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने भएको छ। भ्रमण वर्ष सञ्चालन हुनु पूर्व नै पशुपतिनगरबाट कञ्चनजंघा बेस क्याम्पसम्म पुग्ने करिब ४५ किलोमिटर पदमार्गको निर्माण सक्ने लक्ष्य लिएको योजना अधिकृत पौडेलले बताउनुभयो।

यो पदमार्ग निर्माण गर्न गतवर्ष ६५ लाख रुपियाँ बजेट विनियोजन भएको थियो। यसैगरी भ्रमण वर्षलाई नै लक्षित गरेर कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका प्रमुख ४० वटा पर्यटकीय क्षेत्रको फोटो प्रिन्ट प्रकाशन गरिसकेको र यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय ठाउँमा प्रदर्शन गरिने र ग्रामीण पर्यटनको विकास गर्ने गरी तीनै जिल्लाका विभिन्न पर्यटकीय गाउँमा खुलेका होमस्टेको स्तर उन्नति गरिने बताइएको छ।

कार्यालयले भ्रमण वर्षकै लागि भनेर बजेट विनियोजन नगरेपनि भ्रमण वर्षलाई लक्षित गरेर यी कार्यहरू गर्नेगरी कार्ययोजना बनाएको योजना अधिकृत पौडेलको भनाइ छ। यस्तै तीनै जिल्लाबाट सवारी चालक छनोट गरेर उनीहरूलाई पर्यटकमैत्री सवारी चालक बनाउने गरी तालिम प्रदान गरिनेछ।

जसले गर्दा उनीहरूले मेचीपहाडका जिल्लामा भित्रने पर्यटकलाई पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिनुका साथै पर्यटकमैत्री व्यवहार दिनसक्ने लक्ष्य मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले लिएको छ।

यसैगरी तीन जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा निर्माण भइरहेका पदमार्गलाई भ्रमणवर्ष शरू हुनु पूर्व नै सम्पन्न गर्ने, इलाम र पाँचथरमा रहेका तीनवटा सूचना केन्द्रलाई सुबिधायुक्त बनाएर पर्यटकले त्यहाँबाट जतिसक्दो धेरैभन्दा धेरै सूचना लिन पाउने किसिमको वातावरण बनाउने र इलाम नगरपालिका स्थित महभीरमा रहेको साहसिक खेल रक क्लाइमिङ प्रतियोगिता पनि सञ्चालन गर्ने गरी समितिले कार्ययोजना बनाएको छ।

सरकारले प्रदेश नम्बर १ मा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य लिएपनि पूर्वकै पर्यटकीय जिल्ला इलाममा कति पर्यटक भित्रयाउन सकिन्छ, यहाँ के–के कार्यक्रम गर्न सकिन्छ भनेर प्रदेश सरकारले समेत कार्यक्रम नबनाएको पाइन्छ। प्र

देश सरकारले प्रदेश नम्बर १ भिजिट वर्ष २०२० भनेर प्रदेश स्तरीय समिति बनाए पनि त्यो समितिले के काम गरीरहेको छ भन्ने बारेमा पनि इलामकै सरोकारवाला निकाय र स्थनीय सरकारलाई थाहासमेत नभएको बताएका छन्। जसले गर्दा सरकारले घोषणा गरेको भिजिट वर्ष २०२० सफल हुनेमा चुनौती थपिँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्