दरबन्दी छन्, डाक्टर छैनन्



सलिम अन्सारी,प्युठान। जिल्लाकै पुरानो र ठूलो प्यूठान जिल्ला अस्पतालमा सरकारी चिकित्सक दरबन्दी १४ हो। हाल एकजना पनि दरबन्दीका विशेषज्ञ चिकित्सक छैनन्। करारका दुई जना डाक्टरको भरमा सरकारी अस्पताल चलेको छ।

दरबन्दीका चिकित्सक नहुँदा उपचारका लागि आएका बिरामीहरू उपचार नगरी घर फर्कन बाध्य छन्।
दैनिक २५० बढीले ओपीडी सेवा र भर्ना भई उपचार हुने अस्पताल विशेषज्ञ चिकित्सक बिहीन अवस्थामा छ।

निकसाइमन इन्स्टिच्युटअन्तर्गतका डा. सत्य वैद्य र सुनील सुनारले शल्यक्रियासहितको सुत्केरी सेवा र आकस्मिक सेवा धानेका छन्। चिकित्सक अभाव हुँदा २४ घण्टा डिउटी गर्नुपरेको डा वैद्यले बताउनुभयो।

समयमै कर्मचारी व्यवस्था नहुने हो भने अस्पताल बन्द गर्नुपर्ने स्थिति रहेको उहाँको भनाइ छ। ‘दुई जनाले सिंगो अस्पताल धानेका छौं।’

३ वर्षअघि मन्त्री परिषद्को निर्णयले १५ शैयाको अस्पताललाई स्तरवृद्धि गरी ५० शैयाको बनाए पनी हाल सम्म विशेषज्ञ सेवा पुग्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले बताउनुभयो।

जनशक्तिसँगै अस्पतालमा भौतिक सुविधा, प्रयाप्त औषधी र उपकरणसमेत उपलब्ध हुन सकेको छैन। औषधी किन्ने अख्तियारी कसैलाई छैन।अस्पतालको खातामा लाखौं रुपियाँ हुँदाहुँदै पनि अरुलाई आर्थिक जिम्मेवारी नभएकाले समस्या देखिएको सुवेदीले बताउनुभयो।

अस्पताल प्रमुख डा. शेषराज घिमिरेले डेन्टल सर्जन अस्मिता कोजूलाई निमित्तको जिम्मेवारी दिएर एमडीको तयारीका लागि इन्ट्रान्स परीक्षा दिन आफू विदामा बसेको बताउनुभयो। आर्थिक अख्तियारी नियमअनुसार आफूले दिन नमिल्ने उहाको भनाइ छ।

निकसाइमनको सहयोगमा असोजबाट अस्पतालमा एक जना चिकित्सक पठाउन लागेको र स्वास्थ्य सेवा विभागमा समेत थप चिकित्सकका लागि अनुरोध गरिएको डाक्टर घिमिरेले जानकारी दिनुभयो।सामाजिक विकास मन्त्रालयबाट आर्थिक अख्तियारीसहित एकजना चिकित्सक खटाउने आस्वासन आएको स्रोतले बताएको छ।

प्यूठानसहित छिमेकी जिल्ला गुल्मी, बागलुङ, अर्घाखाँची र रोल्पाका बिरामीले अस्पताल भरिभराउ छ। एउटै बेडमा २ बिरामी राखेर उपचार गरिएको छ ।

‘अस्पतालमा सेवा नभएपछि बिरामीले निजी क्लिनिकमा महँगो शुल्क तिरेर सेवा लिने गरेका छन्। स्वास्थ्य बीमा गरेका बिरामीले औषधी नपाएको गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्