६ देशका नगर प्रमुखसहितको टोली भक्तपुरमा



पुष्कर बुढाथोकी, भक्तपुर।ईन्द्रजात्रा अवलोकन गर्न आमन्त्रण गरिएका विश्वका विभिन्न देशका नगर प्रमुख र प्रतिनिधिले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको विभिन्न सम्पदा र पाँचतले मन्दिर अवलोकन गरेका छन्।

काठमाडौं महानगरपालिकाको पहिलो र औपचारिक निमन्त्रणामा ईन्द्रजात्रामा सहभागी हुन नेपाल आएका आएका ६ देशका नगर प्रमुखले आज भक्तपुरको भ्रमण गरेका हुन।

अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भुटानको थिम्पू नगरका मेयर किन्ले दोर्जी, भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंहलगायत अमेरिका र जापानका १० शहरबाट नेपाल आएका पदाधिकारीसहित ४० जना अवलोकमा सहभागी रहेका थिए।

भक्तपुर आइपुगेका चीन, अमेरिका, भुटान, बंगलादेश र जापानका प्रमुखसहितले भक्तपुरको दरबार क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाको अवलोकन गरेका थिए।

भक्तपुर दरबार क्षेत्रमा ५५ झ्याले दरबार, लुँःध्वाका, तलेजु, निर्माणाधिन फसी देग, पशुपति महादेवलगायतका दरबार क्षेत्रमा रहेको दरबार, तःमारहीमा ङातापोल्ह मन्दिर, भैरव मन्दिरलगायत सम्पदाको अवलोकन गरे।

त्यहाबाट क्वाछेँ, सुकुल ढोका, गोःमारही, ईनाचो हुँदै तचपाल स्थित भीमसेन मन्दिर, दत्तात्रय मन्दिर, म्हैखा झ्यो (मयुर झ्याल) अवलोकन गरि च्याम्हासिँह सम्म पैदल हिडेर फर्केका थिए।

भ्रमणमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसमेत सहभागिता थियो।
विदेशी पाहुनालाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीसहितको टोलीले स्वागत गर्दै भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार स्क्वाएर र पाँचतले मन्दिर र भक्तपुरको कला संस्कृतिको महत्वको विषयमा भ्रमण टोलीलाई जानकारी गराएका थिए।

भक्तपुर नगर आएका पाहुनाका लागि भक्तपुर नपाका तर्फबाट प्रमुख प्रजापति र उपप्रमुख जोशीले पुरुष अतिथिका लागि भादगाउँले टोपी र महिला अतिथिका लागि सुर्के थैली उपहार दिएर स्वागत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्