गुञ्जिए प्रवेश र पवित्रमान



गायक दाजुभाइ प्रवेशमान शाक्य र पवित्रमान शाक्य संगीत साधक पिता पन्नाकाजी र आफ्ना लोकप्रिय गीतहरूका साथ शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गुञ्जिएका छन्। यी गायक दाजुभाइ प्रवेशमान शाक्य र पवित्रमान शाक्य एक साँझमा गुञ्जिएका हुन्।

एकल साँझमा १६ जना वाद्यवादकसहित प्रवेशमान र पवित्रमानले संगीतसाधक पिता पन्नाकाजी र आफ्ना गरी १९ गीतका साथ प्रत्यक्षरूपमा गुञ्जिए।

कार्यक्रममा गायकद्वयले आफूहरू एकै आमाका दुई सन्तान भएका कारण दुई जना भए पनि एकल साँझ भनिएको बताए। उनीहरूले आफ्नो पीताको स्मरण गर्दै पिताको सम्मान र सम्झनास्वरूप तथा प्रतिभा भएर पनि आर्थिक अभावका कारण गीत–संगीत क्षेत्रमा आउन नसकेका प्रतिभाको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको बताए।

उनीहरूलाई गायनमा दीप तुलाधर तथा गायिका रूपा केसीले साथ दिएका थिए। कार्यक्रमको शुरूआतमा पवित्रमान शाक्यको अन्तिम एल्बम धरातलको प्रमुख अतिथि गीतकार रत्नशमशेर थापा र गीतकार तथा फिल्मकर्मी यादव खरेलले एकसाथ विमोचन गरेका थिए।

करिब १५ वर्षपछि निकालेको एल्बममा १७ वटा गीत समावेश छन्।कार्यक्रममा वाद्यसंयोजन मनोहर सुनामले गरेका थिए भने भ्वायलिनमा मोहनकृष्ण कार्की ढली, नारायणदास कार्की ढली, किशोर कार्की ढली, सविन कार्की ढली, केशव सुनाम र विकासनाथ योगीले साथ दिएका थिए।

त्यसै गरी किबोर्डमा दिनेशराज रेग्मी, लिड गितारमा सुरज प्रधान, बेस गितारमा अनुप दास, रिदम गितारमा दीपक थापा, ढोलकमा जयप्रकाश शर्मा, अक्टोप्याडमा भूपेन्द्र रसाइली, तबलामा प्रमोद उपाध्याय, मादलमा सुनील अर्याल, बाँसुरीमा गोपालदेव घतानी तथा लाइभ ड्रममा रवि गरुङले साथ दिएका थिए।

कार्यक्रममका अतिथि तथा वाद्यवाधकलाई स्वागत गर्दै प्रवेशमान र प्रवित्रमानले मेडल प्रदान गरेका थिए भने कार्यक्रममा सहभागी सम्पूर्ण दर्शकलाई नेवारी परम्पराअनुसार जजंका लगाइदिएर स्वागत गरिएको थियो।

करिब ३ घन्टासम्म चलेको कार्यक्रममा प्रवेशमान र पवित्रमाने एकल तथा संयुक्तरूपमा तिरिरी मुराली बज्यो वनैमा, लाउन त प्रीत लाइदियौ, किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ, वा माया वा (नेवारी गीत) जस्ता गीतहरू गाएका थिए। कार्यक्रममा गायकहरूले गीत प्रस्तुत गरिरहँदा दर्शकले पनि सँगसँगै गाएर साथ दिएका थिए।

कार्यक्रमबाट उठेको रकमबाट नवप्रतिभाको स्वरमा गायक पिता पन्नाकाजीको १० गीत रेर्कड गराउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्