प्रदेश–५ मा संविधान दिवसमा विशेष कार्यक्रम

चोकचोकमा राष्ट्रिय झण्डा, तीन दिनसम्म दीपावली



नेपाल समाचारपत्र, बुटवल।प्रदेश पाँच सरकारले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गर्दै संविधान दिवस मनाउनका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा ९७ सदस्यीय मुल समिति गठन गरेको छ।

संविधान जारी भएको मिति असोज ३ गतेलाई लक्षित गरेर प्रदेश पाँच सरकारले तीन दिवसीय रुपमा संविधान दिवस मनाउने तयारी गरेको हो। दिवसका अवसरमा तीन दिनसम्म दीपावली गरिनेछ।

संविधान दिवसको पूर्वसन्ध्यामा असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरूको राष्ट्रिय झण्डा फेर्ने, सामाजिक विकास मन्त्रालयको संयोजनमा संविधान दिवससंग सम्बन्धित कविता वा गजल वाचन प्रतियोगिता गर्ने, प्रदेश राजधानीका मुख्य चोकहरूमा तीन दिनसम्म राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले तीन दिवसीय कार्यक्रमको पहिलो दिन प्रदेश राजधानीका मुख्य चोकहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो।

त्यस्तै प्रदेशका स्थानीय तहहरूले मन्त्रालय तथा सुरक्षा निकायहरूको समन्वयमा आ–आफ्नो स्थानीय तहमा सरसफाइ कार्यक्रम आयोजना गर्ने र सरसफाइ कार्यक्रमलाई डेंगु रोगविरुद्धको सचेतना अभियानका रुपमा लैजान सामाजिक विकास मन्त्रालयले पहल गर्ने उहाँले जानकारी गराउनुभयो।

साँझ प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा दीपावली गर्ने पनि उहाँले बताउनुभयो।संविधान जारी भएको दिन असोज ३ गते कला संस्कृति झल्किने भेषभुषासहितको झाँकी प्रदर्शन तथा आमसभा गरिनेछ।

बुटवलको राजमार्गबाट झाँकी प्रदर्शनसहित प्रदर्शनीस्थलमा गएर आमसभा गर्ने बताइएको छ। त्यस्तै साँझ प्रदेशका सबै सरकारी कार्यालयमा दीपावली गरिनेछ।

तीन दिवसीय कार्यक्रमको अन्तिम दिन सामाजिक विकास मन्त्रालयले बुटवल र भैरहवामा रक्तदान कार्यक्रम गर्ने र त्यसको प्राविधिक व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटीलाई अनुरोध गरिने सचिव खरेलले बताउनुभयो।

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको व्यवस्थापनमा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ। प्रदेश सरकारले ४ वटा दिवस मनाउनका लागि २० लाख बजेट विनियोजन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्