कांग्रेसद्वारा संसद् अवरुद्ध



काठमाडौं, (नेस)।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। बाँके घटनालाई लिएर कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो।

गृहमन्त्री रामबहादुर थापा बादलले रोस्ट्रममा उभिएर बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि कांग्रेसले असन्तुष्टि जनाउँदै दोस्रो पटकको बैठक अवरुद्ध गरेको हो।

बैठकको शुरूमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बाँके घटनाबारे सरकारको जवाफ माग्नुभएको थियो। सत्तारूढ दलका कार्यकर्ताले पार्टीको सभा बिथोल्नु घोर निन्दनीय भएको बताउँदै खाँडले घटना हुँदा स्थानीय प्रशासन मौन देखिएको आरोप लगाउनुभयो।

कांग्रेस सांसदहरूले उठाएको प्र्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले नेकपाको निर्देशनमा घटना नभएको स्पष्ट पार्नुभएको थियो। उहाँले नेकपाका कार्यकर्ता संलग्न हुनसक्ने भन्दै कारबाही गर्ने बताउनुभयो।

कांग्रेसकी सचेतक पुष्पा भुसालले किटानी जाहेरी दर्ता गर्न निर्देशन दिएपछि मात्र संसद् चलाउन सहयोग गर्ने बताउनुभयो। बाँके घटनाको विषयलाई लिएर कांग्रेसले यसअघि नै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाइसकेको थियो।

आइतबार दोस्रो बैठक शुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले सदनको कारबाही शुरु भएको घोषणा गर्ने बित्तिकै कांग्रेसका सांसदले आसनबाट उठेर विरोध गरेका थिए।

भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका– १ स्थित सीतापुरमा कांग्रेसले गरेको राष्ट्रिय जागरणसभामा सत्तारुढ दलका कार्यकर्ताले जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ।
प्रतिनिधिसभाको बैठक सोमबार पुनः बस्नेछ।

 

प्रतिक्रिया दिनुहोस्