रसियामा नेपाली चिया, पश्मिना र हस्तकला निर्यात बढाउन जोड



नेपाल समाचारपत्र, बुटवल। वैदेशिक भ्रमणका क्रममा रसिया पुगेको रूपन्देही उद्योग संघको प्रतिनिधि मण्डलले मस्कोस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत तथा छलफल कार्यक्रम सहभागिता जनाउँदै अन्तरक्रिया गरेको छ।

संघको वार्षिक कार्यक्रमअन्तर्गत वैदेशिक भ्रमणमा गएको टोलीले राजदूतावासमा राजदूतसँग छलफल गरेको भ्रमण टोलीमा रहनु भएका संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले बताउनुभयो।

एनआरएन अन्तराष्ट्रिय समन्वय कमिटीको समन्वयमा भएको कार्यक्रममा नेपाली राजदूत ऋषिराम घिमिरेले नेपाली उद्योगी टोलीलाई स्वागत गर्दै नेपालमा राजनीतिक स्थायित्वसँगै व्यवसाय विस्तारको सम्भावना बढेको हुँदा उद्योगीले त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो।

राजदूत घिमिरेले नेपाल र रसियाबीचको व्यापा रघाटा कम गर्न के गर्न सकिन्छ भन्ने बारेमा दूताबास चिन्तित रहेको बताउँदै त्यसको अध्ययन भइरहेको जानकारी गराउनु भएको थियो।

उहाँले रसियामा नेपाली चिया, पश्मिना, गलैंचा र हस्तकलाका सामग्रीको राम्रो माग रहेको स्मरण गराउँदै त्यसको विस्तारका लागि नेपालका उद्योगीहरुसँग समन्वय र सहकार्य गर्ने वातावरण निर्माण जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा भ्रमणको उद्देश्यका बारेमा प्रकाश पार्दै संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले विश्वमा भइरहेको औद्योगिक विकास र त्यसबाट नेपाली उद्योगीले कसरी फाइदा लिन सकिन्छ भन्ने उद्देश्य भ्रमणको रहेको बताउनुभयो।

अध्यक्ष अधिकारीले रूपन्देही जिल्ला औद्योगिक हबको रूपमा विस्तार हुँदै गइरहेको सन्दर्भमा भ्रमणले अनुभव साटासाट गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा अध्यक्ष अधिकारीले रसियामा रहनु भएका एनआरएनका सदस्य लगानीकर्तालाई रूपन्देहीमा लगानी गर्न आग्रह पनि गर्नु भएको थियो।

कार्यक्रममा एनआरएनका अध्यक्ष शिवमणि भुर्तेलले रसियाको व्यवसायको स्वरूप र सम्भावनाका बारेमा जानकारी गराउँदै नेपाली उत्पादनको वजारको खोजीसँगै विदेशमा सिकेको सीप, ज्ञान र लगानी स्वदेशमा भित्र्याउन पहल गर्दै आएको जानकारी गराउनु भएको थियो।

कार्यक्रममा एनआरएन अन्तर्राष्ट्रिय समन्वय कमिटीका महासचिव बद्री केसी, निवर्तमान अध्यक्ष रामेश्वर गौतम, उपाध्यक्ष गोविन्द आचार्य, सल्लाहकार गणेश रामदाम लगायत बोल्नु भएको थियो।

कार्यक्रममा रसियामा रहेका नेपालीले विदेशी पुँजी नेपालमा भित्र्याउन राज्यले नीतिगत निर्णयमा परिर्वतन गरी लगानी सुरक्षाको बातावरण निर्माण गर्न आग्रह गरिएको थियो।

रसियाबाट नेपालमा लगानीका लागि ठूलो समुह उत्सुक रहेको जानकारी गराउँदै रसियामा रहेका नेपालीहरुले व्यापार व्यवसायमा सफलता हासिल गरेको हँुदा विश्वासको वातावरण बन्ने जिकिर गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्