आफ्नो डिसिजनको ब्लेम अरूलाई लगाउँदिनँ: नम्रता श्रेष्ठ



सशक्त अभिनय र सुन्दर रूपकी धनी नायिका नम्रता श्रेष्ठले जब सानो संसार नामक फिल्मबाट अभिनय करिअरको शुरूआत गरिन्, त्यसले उनलाई सफलताको ठूलै संसारमा पुर्यायो। त्यसपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन। एकपछि अर्को गर्दै मेरो एउटा साथी छ, सुनगाभा, मौन, मेघा, क्लासिक, सोल सिस्टरजस्ता डेढ दर्जन फिल्मबाट अभिनय यात्रा अगाडि बढाइन्। म्युजिक भिडियो तथा विज्ञापन फिल्ममार्फत्समेत धेरैको मनमा राज गर्न सफल नम्रताको करिअरले उचाइ लिँदै गर्दा ६ हजार १ सय १९ मिटर अग्लोे सगरमाथाको लोबुचे इस्ट पिकको अरोहण गरिन्। उनीद्वारा निर्मित फिल्म जाइरा केहीअगाडि मात्र रिलिजमा आएको छ। पछिल्लो समय प्रदर्शित फिल्म प्रसाद र जाइराबाट अलग्गै किसिमको प्रशंसा बटुल्न सफल नम्रतासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

रश्मी थापा

फिल्मी यात्रा कस्तो चलिरहेको छ?

सन्तुष्ट छु। पहिले फिल्म क्षेत्रमा आउँछु भन्ने लागेकै थिएन। तर जब म म्युजिक भिडियोमा अभिनय गर्न थालँे, त्यहाँदेखि फिल्म क्षेत्रप्रति आकर्षित हुन थालँे।

यही क्रममा आलोक नेम्वाङ दाइको फिल्म सानो संसारका लागि अडिसन खुलेको थियो। त्यहाँ ३ चोटी अडिसन दिएपछि मात्र सेलेक्ट भएँ।

मैले अभिनयसम्बन्धी क्लास नलिएका कारणले म्युजिक भिडियोभन्दा फिल्ममा केही गाह्रो भएको थियो। पछि बानी भयो।

पहिलो फोटो सेसनको सम्झना छ?

छ। एसएलसी सकिनासाथ म्युजिक भिडियो खेलेको थिएँ। त्यहीबेला फोटोसुट पनि गरेको थियो। त्यो

बेला म मेक अप गर्दिनथेँ। फोटोसुट पनि यतिकै गर्ने होलाजस्तो लागेको थियो।

तर मेकअप गर्नुपर्नेरहेछ। मेरो मेकअप गरीदिनुभयो। एक दिनको काम थियो। निकै रमाइलो लागेको थियो।

फिल्म क्षेत्रमा नलागेको भए के बन्नुहुन्थ्यो?

शुरूमा म कान्तिपुर एफएममा भिजे थिएँ। मास कम्युनिकेसन पढिरहेको बेला एफएमका लागि भ्याकेन्सी खुलेको थाहा पाएर गएको थिएँ।

पछि फिल्म क्षेत्रमा आएँ। मलाई बच्चाहरू असाध्यै मन पर्ने भएका कारण सायद चाइल्ड साइकोलोजिस्ट बन्थेँ कि।

फिल्म छान्दा के कुरामा ध्यान दिनुहुन्छ?

आउन त धेरै फिल्मको अफर आइरहेका हुन्छन्। तर म फिल्मको स्क्रिप्ट र टिममा ध्यान दिन्छु। टिम राम्रो छ भने काम गर्न धेरै सजिलो हुन्छ।

नायिका र निर्मात्री हुँदा के फरक पाउनुभयो?

धेरै फरक छ। यदि म फिल्ममा एक्टिङ मात्र गर्थेँ भने एक्टिङमा मात्र ध्यान दिँदा हुन्थ्यो।

तर प्रोड्युसर भइसकेपछि एकातिर मात्र ध्यान दिएर हुँदैन।

कलाकार, फिल्मको स्क्रिप्टदेखि लिएर पोस्ट प्रोडक्सनमा पनि धेरै समय दिनुपर्छ। एकदमै प्रेसर हुन्छ।

फिल्म निर्माण र अभिनय गरेर मात्र बाँच्न सकिने अवस्था छ?

फिल्म निर्माणमा भर्खरै मात्र लागेको हो। अभिनयको कुरा गर्नुपर्दा म वर्षमा एउटा मात्र फिल्म खेल्छु। तैपनि फिल्म क्षेत्रबाट नै सर्भाइव भइरहेको छु।

एउटा फिल्मका लागि १ वर्ष मेहनत गरेपछि पारिश्रमिक पनि वर्षभरि गरेको मेहनतअनुसार नै लिनुपर्छ। कस्तो फिल्म र वर्षमा कति फिल्म गर्ने भन्ने कु्रा कलाकारमा पनि निर्भर हुन्छ।

साथै कलाकारको खर्च गर्ने बानीमा पनि भर पर्छ। कसैको धेरै खर्च गर्ने बानी हुन्छ। तर म धेरै गर्च गर्दिनँ। त्यसकारण वर्षमा एउटा फिल्म नै काफी छ।

एटिक रेस्टुरेन्टमार्फत् व्यवसायको शुरूआत गर्ने सोच कसरी बन्यो?

खासमा पहिले त हामीले साथीभाइ भेटघाट गर्ने जक्सनका रूपमा एटिकको शुरू गरेका थियौँ।

तर हालसम्म आइपुग्दा व्यवसाय पनि राम्रो भइरहेको छ। अहिले त एटिक शुरूआत गरेको पनि १० वर्ष भइसकेको छ।

हिमाल आरोहण गर्ने सोच कसरी आयो?

वास्तवमा दावा स्टेभेन शेर्पा र म सगरमाथा बेस क्याम्पसम्म जाने भनेर हिँडेका थियौँ।

तर बाटोमा हिमाल चढ्न हिँडेका व्यक्तिहरूलाई देखेपछि यहाँसम्म आइसकेपछि किन हिमाल नचढ्ने त भन्ने सोच आयो र त्यहीअनुरूप लोबुचे आरोहण गरियो।त्यहाँ पुगेपछि अर्कै संसारमा पुगेको जस्तो फिल भयो।

त्यति धेरै उचाइबाट तल हेर्नुको अनुभव नै छुट्टै रोमाञ्चक थियो। जुन मेरा लागि रेयर मुमेन्ट पनि थियो।

जाइराका लागि जिममा धेरै मेहनत गर्नुभयो। पहिला पनि जिम गर्नुहुन्थ्यो कि?

जाइरामा अभिनय गर्नुभन्दा अघि कहिल्यै जिम गएको थिइनँ। तर फिल्मका लागि करिब ६ महिना लगातार जिममा प्राक्टिस गरेँ। यही ट्रेनिङ गरेपश्चात जिमको महत्वका बारेमा थाहा पाएँ।

फिटनेसका लागि गरिने जिमले मेन्टल हेल्थका लागि पनि सहयोग गर्दो रहेछ भन्ने बुझेँ।

त्यसपछि भने मैले आफ्नो साथीभाइलाई पनि वर्क आउटका फाइदा बारे भन्ने गरेकी छु। म योग पनि गर्छु।

आफूले गरेको मन पर्ने काम?

सन् २००८ देखि हालसम्मको करिअरमा आफैँलाई चित्त बुझ्दो काम गर्न सकेको छैन। म आफूलाई अझै निखार्ने कोसिसमा छु।

मैले जति पनि काम गरेँ, अहिलेसम्म यो फिल्ममा चाहिँ खतरा काम गरेँ भन्ने लागेको छैन। अझ धेरै कुरा सिक्न र गर्न बाँकी नै छ।

आफूलाई पछुतो लाग्ने केही कुरा छ?

छैन्। म आफ्नो डिसिजनका कारणले केही भयो भने अरूलाई ब्लेम लगाउँदिनँ।

त्यहीँकारण पनि आज म जुन ठाउँमा छु, आफ्नै डिसिजनको कारणले छु।

प्रतिक्रिया दिनुहोस्