रक्तदान सम्पन्न



काठमाडौं, (नेस)।ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला मध्यक्षेत्रको आयोजनामा वृहत् खुल्ला रक्तदान कार्यक्रम महादेव पार्वती डबली काठमाडौंमा सम्पन्न भयो।

ब्लोदान काठमाडौं मध्यक्षेत्रका अध्यक्ष कृष्णप्रसाद मानन्धरको सभापतित्व तथा ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथि कामनपा–२ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलगायत ब्लोदान केन्द्रका महानुभावहरू, जिल्ला शाखाका महानुभावहरूलगायतका उपस्थिति रहेको थियो।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि ई. प्रजापतिले आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने कार्य गर्नुभएकोमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई धन्यवाद दिँदै नियमित रुपमा रक्तदान गर्नुहुनसमेत अनुरोध गर्नुभयो।

सोही कार्यक्रममा बोल्नुहुँदै विशेष अतिथि कामनपा–२ का अध्यक्ष श्रेष्ठले रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने बताउनुहुंँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

सो कार्यक्रममा रक्तदान गर्नुहुने महानुभावहरूलाई कार्यक्रमस्थलमै रक्तदान गरेको फोटो अंकित कप मायाको चिनोस्वरुप प्रदान गरिएको थियो भने सहयोगी महानुभावलाई मायाको चिनो प्रदान गरिएको थियो।

सो कार्यक्रममा ब्लोदान केन्द्रका वरिष्ठ सल्लाहकार श्रीमती निता घिराइयाले १४७औं पटक तथा ब्लोदान केन्द्रका उपाध्यक्ष सूर्यलाल महर्जनले १०२औं पटक रक्तदान गर्नुभएको थियो।

रक्त सञ्चार सेवा भक्तपुरको प्राविधिक टोलीबाट रगत संकलन कार्य भएको सो कार्यक्रममा जम्मा ७१ जना स्वयंसेवी रक्तदाता महानुभावहरूले आफ्नो अमूल्य रगत दान गर्नुभई सहयोग पुर्याउनुभएको थियो।

सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न विभिन्न महानुभावहरूले आर्थिक तथा भौतिक सहयोग गर्नुभएको थियो।
सभापतिको आसनबाट आफ्नो मन्तव्य राख्नुहुँदै ब्लोदान काठमाडौं मध्यक्षेत्रका अध्यक्ष मानन्धरले हाल देशमा फैलिंँदै गएको डेंगु रोगका कारण रगतको मागमा आएको वृद्धिसमेतलाई ध्यानमा राखी गरिएको यो कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्नुहुने स्वयंसेवी रक्तदाता महानुभावहरू, आर्थिक तथा भौतिक सहयोग गर्नेलगायत अन्य सहयोगी महानुभावहरूलाई धन्यवाद दिनुका साथै भविष्यमा समेत सहयोगको अपेक्षा राख्दै धन्यवाद दिनुभयो।

प्रतिक्रिया दिनुहोस्