मन्थली बचतमा ८० करोडमाथीको कारोबार, नाफा मात्रै १ करोड ३० लाख



रामचन्द्र वि.क., रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाले नाफा मात्रै १ करोड ३० लाख २३ हजार ८ सय त्रिसठ्ठी रुपैयाँ कमाएको छ । सहकारीले गत आर्थिक बर्ष सम्ममा संस्थामा रहेका १२ हजार ८ सय शेयर सदस्यहरुबाट प्राप्त गरेको निक्षेपलाई ऋण लगानी गरी उक्त नाफा कमाएको हो ।

शनिबार मन्थलीमा सम्पन्न २२ औं साधारण सभामा संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्टले संस्थाको आय ब्यय बिबरण प्रस्तुत गर्दै गत बर्ष सम्मको कुल सम्पत्ति ८० करोड ४० लाख ७१ हजार १ सय दुइ रुपैयाँ रहेको बताउनुभएको छ । त्यस्तै ५८ करोड ३९ लाख ७ हजार ३ सय सैंतीस रुपैया ऋण लगानी भएको, ६२ करोड ७९ लाख ४४ हजार १ सय चवालिस रुपैयाँ बचत संकलन भएको र ७ करोड १ लाख १९ हजार रुपैयाँ शेयर पुँजी रहेको कोषाध्यक्ष भट्टले जानकारी गराउनु भएको थियो ।

२२ बर्षअघि ११ जना व्यक्तिहरु मिलेर ११ हजार पुँजीबाट सुरुवात भएको सहकारीले गत वर्षमा ३ नम्बर प्रदेशको उत्कृष्ठ सहकारी ब्यवसायबाट पुरस्कृत भएको थियो भने संस्थाका सचिब गोविन्द प्रसाद घिमिरेलाई भारतको हिमाञ्चल प्रदेश अन्तर्गत रहेको सहकारीले पुरस्कृत गरेको थियो ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले झेले सहकारी र ऐन नियम बिपरित काम गर्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले नगरपालिका भित्र रहेका साना सहकारी संस्थाहरुलाई ठुला सहकारीहरुसँग एकीकृत गरेर सबै सहकारीलाई समान बनाउने बताउनुभयो ।

संस्थाका अध्यक्ष धु्रब प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न साधारण सभाले कार्यकाल सकिएका अध्यक्ष धु्रब प्रसाद सुबेदी, उपाध्यक्ष रामचन्द्र बियोगी, सदस्य नानी मैया माझी र लेखा तथा सुपरीबेक्षण समितिका सदस्य कृष्ण बहादुर बस्नेतलाई पुन सोही पदमा हुने गरी निर्बाचित गरेको सचिब गोविन्द प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्