जासुसी परेवालाई सोभियत सङ्घको महत्वपूर्ण स्थानहरूको तस्बीर खिच्न प्रयोग



काठमाडौं । अमेरिकी जासुसी संस्था सीआईएले शीतयुद्धमा कसरी उसले गोप्यरूपमा परेवा, कौवा र डल्फिनलाई जासुसी काममा प्रयोग गर्याे भन्ने बारेको दस्तावेज सार्वजनिक गरेको छ। ती दस्तावेजहरूमा परेवालाई कसरी सोभियत सङ्घको सामरिक महत्वपूर्ण स्थानहरूको तस्बिर खिच्न प्रयोग गरियो भन्ने बारे विवरण छ। साथै कौवालाई कसरी झ्यालमा जासुसी यन्त्रहरू खसाल्न र डल्फिनलाई पानीमुनिको जासुसी कार्यका लागि प्रयोग गरियो भन्ने बारेमा पनि जानकारी छ।

सीआईएले ती जनावरहरूले मानिसलाई गाह्रो हुने कतिपय जासुसी कामहरू गर्न सक्ने विश्वास गरेको देखिएको छ। सीआईएको मुख्यालयमा सर्वसाधारणहरूलाई नखोलिने एउटा सङ्ग्राहलय छ जसमा क्यामरा बाँधिएको परेवाको मूर्ति पनि छ। सन् १९७० ताका तकाना नाम दिइएको जासुसी कार्यक्रम अन्तर्गत आफैँ तस्बिर खिच्ने सानो क्यामरा बाँधिएका परेवाहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर अध्ययन गरिएको थियो। जहाँ छोडे पनि सयौँ किलोमिटर टाढा रहेको बासस्थानसम्म आइपुग्ने विशेष गुणले परेवालाई यो कामका लागि योग्य मानिएको थियो।

परेवालाई सञ्चारका लागि प्रयोग गर्ने चलन हजारौँ वर्ष पुरानो भए पनि पहिलो विश्वयुद्धदेखि यसलाई जासुसी कार्यमा प्रयोग गर्न थालिएको मानिन्छ। दोस्रो विश्वयुद्धमा ब्रिटेनले हजारौँ परेवाहरूलाई अधिनस्त युरोपका विभिन्न भागमा प्रश्नावलीसहित खसालेको र एक हजारभन्दा बढी परेवाहरू जर्मनीका हतियारको अवस्थाका बारेमा महत्त्वपूर्ण जानकारी लिएर फर्किएको मानिन्छ।

जर्मनविरोधी एउटा समूहको १२ पाना लामो प्रतिवेदन तत्कालीन ब्रिटिश प्रधानमन्त्री चर्चिललाई पठाइएको थियो। शीतयुद्धमा पनि ब्रिटेनमा परेवाको प्रयोगसम्बन्धी चर्चा भएको तर त्यो कार्यक्रम बन्द भएपछि सीआईएले त्यस्तो काम थालेको थियो।

अमेरिकाले भने अन्य जनावरहरूलाई पनि तालिम दिएको थियो। दस्तावेजका अनुसार कौवालाई ४० ग्रामसम्मका वस्तु ओसार्न प्रयोग गरिएको थियो। कौवालाई ठूला भवनहरूको झ्यालमा जासुसी यन्त्रहरू राख्न र ल्याउन प्रयोग गरिएको थियो। रातो लेजर प्रकाशको सहायताले कौवालाई सञ्चालन गरिन्थ्यो। सीआईएले बिरालोमा पनि टाढासम्म सुन्न सकिने यन्त्र जडान गरेको थियो। सन् १९६० ताका नै सीआईएले डल्फिनलाई रुसी समुन्द्री किनारसम्म पुगेर जासुसी गर्न तालिम दिएको थियो।

बीबीसि

प्रतिक्रिया दिनुहोस्