काभ्रेमा एक घर एक घारा अभियानः रविगाउँमा २४ घण्टै गुणस्तरीय पानी



मोतीराम तिमल्सिना, काभ्रे ।
जनप्रतिनिधि निर्वाचित हुनु अगावै घोषणापत्रमा लेखिएको प्रतिवद्धता पुरा गर्दै धुलिखेल नगरपालिकाले वडा नम्वर २ रविगाउँका ५ सय ६५ घर धुरीमा एक घर एक धारा जडान गरेको छ ।

घर घरमा जडान गरिएका धाराहरुको नेपाल सरकारका प्रवत्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा ६३ लाख, प्रदेश सरकारले २५ लाख रुपैया तथा उपभोक्ता समितिले २० प्रतिशत ब्यहोरी ३ सय ८० घर धुरीमा मिटर जडान सहितको धारा उपलब्ध गराएको थियो ।

त्यस अघि फनबोर्डको सहयोगमा २ सय १ सय ८५ घर धुरीमा एक घर एक धारा जडान गरिएको थियो । ६ सय २१ घर धुरी मध्ये ५६ घरमा धारा जडानको कार्य भईरहेको कार्यवाहक वडा अध्यक्ष अर्जुन न्यौपानले बताउनु भयो । ‘निर्वाचित हुनु अगावै पार्टीले घोषणा गरेको नगर स्तरीय योजनामा एक घर एक धाराको प्रतिवद्धता थियो’–अध्यक्ष न्यौपानेले भन्नुभयो–‘नगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा निर्वाचित भएको दुई वर्षमै गुणस्तरीय खानेपानी सबै घर धुरीमा उपलब्ध गराउन सम्भव भयो ।’

दैनीक एक ब्यक्तिले ६५ लिटर पानी उपभोग गर्दा समेत पर्याप्त हुन्छ । मिटरमा उठेको अंकका आधारमा उपभोक्ता समितिले रकम लिन्छ । उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी कोईरालाले खानेपानीको महसुल आमउपभोक्ताको भेलाबाट मात्रै चयन गरिने बताउनु भयो । ‘भर्खर खानेपानी उपलब्ध गराईएको छ, पहिले हामी गुणस्तरीय खानेपानी उपलब्ध गराउन प्रतिवद्ध भयौं अब यसको ब्यवस्थापन र दिगोपनाका लागि केन्द्रित हुन्छौं ।’

ठाडोखोला खानेपानी उपभोक्ता समितिबाट उपभोक्ताहरुले प्राप्त गरेको गुणस्तरीय खानेपानी नेपाल सरकारको लक्ष्य अनुसार नै भएकाले नगरका सबै क्षेत्रमा उपलब्ध गराउने गरी म्यापिङ्ग गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाले एक घर एक धाराको नीति अवलम्वन गरेको छ ।

धुलिखेल नगरपालिकाको वडा नम्वर १, २, ८, ९, १०, ११ र १२ नम्वर वडाका सम्पूर्ण घर धुरीमा ५ वर्ष भित्र गुणस्तरीय खानेपानी पु¥याउने प्रतिवद्धता अनुसार खानेपानीको रिसर्च म्यापिङ्ग तयार गरि त्यहि म्यापिङ्ग अनुसार रविगाउँमा एक घर एक धारा कार्यक्रम सम्पन्न गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

बाँकी वडाहरु ३, ४, ५, ६, ७ र वडा नम्वर ८ का साविकका केहि वडाहरुमा एकीकृत खानेपानीको पानी उपलब्ध गराईनेछ । उक्त म्यापिङ्ग अनुसार २७ वटा योजना तयार भएका छन् । तयार भएका योजनामा कार्य शुरु भएको छ । सोहि योजनाका आधारमा सबै नागरिकका घर घरमा धारा पु¥याईने उहाँले बताउनु भयो ।

यस अघि धुलिखेल नगरपालिकाकै वडा नम्वर १ देविटारको छाँगे र वडा नम्वर ११ पातलेखेतमा एक घर एक धाराको अन्तराष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय खानेपानी नेपालकै पहिलो नमुना खानेपानी घोषणा गरिएको थियो ।

कार्यक्रममा मन्त्री बास्कोटाले जिल्लाबासीहरुको समृद्धीका लागि जिल्लाका विभिन्न स्थानमा महत्वपूर्ण योजनाहरु शुरु भएको बताउनु भयो । रविगाउँका नागरिकहरुलाई जनप्रतिनिधि भएको महसुस गराएको बताउँदै मन्त्री बास्कोटाले मुुलुक समृद्ध बन्ने यात्रामा अगाडी बढेको बताउनु भयो । कार्यक्रममा उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, स्थानीय ब्यक्तिहरुले प्रतिवद्धता अनुसार कार्य सम्पन्न भएकोमा धन्यवाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्