कांग्रेस बाँके सभापतिलाई आक्रमण गर्ने नेकपाका तीन कार्यकर्ता पक्राउ



बाँके,  बाँके खजुरा गाउँपालिका २ सीतापुरमा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी घाइते बनाएको घटनामा प्रहरीले तीन जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ।

पीडितको जाहेरी परेपछि नेकपा स्थानीय नेता लोकबहादुर शाही, निर्मल खत्री र रोशनसिंह ठकुरीले प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।

बिहीबार दिउँसो रेडक्रसको हलमा कार्यक्रम भइराखेको बेला कार्यक्रम गर्न नदिने भन्दै नेकपा कार्यकर्ताले आक्रमण गर्दा कोइरालाको हात भाँचिएको थियो।

कोइरालाले नाम किटान गरी प्रहरीलाई बताएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। संलग्नता पुष्टि हुने आधार देखिए कानुनअनुसार उनीहरूलाई कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्