नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन असोज ३ गतेदेखि



पुष्कर बुढाथोकी,भक्तपुर,(नेस)।नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन असोज ३ गतेदेखि ५ गते सम्म भक्तपुरमा हुने भएको छ ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छे रोहितले असोज ३ गते दिउँसो भक्तपुरको सल्लाघारीमा उक्त महाधिवेशन उद्घाटन गर्ने पार्टीले जनाएको छ ।

उद्घाटनको दिन बिहान १० बजे कोटेश्वरबाट एउटा जुलुश र भक्तपुरको च्यामासिंहबाट अर्को जुलुश सल्लाघारी पुग्ने कार्यक्रम रहेको नेमकिपाको महाधिवेशन तयारी समितिले जनाएको छ ।

पार्टी सचिव प्रेम सुवालले एक वक्तव्य जारी गरी पार्टीले महाधिवेशनलाई समाजवादी प्रचार अभियान र राजनीतिक कक्षाको रुपमा अघि बढाउने उल्लेख गर्नुभएको छ ।

स्थापनाकालदेखि नै देशको सार्वभौमिकता र कामदार जनताको पक्षमा निरन्तर संघर्ष आएको सो पार्टीले जनाएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति जटिल रहेको अवस्थामा महाधिवेशन हुन लागेको बताउँदै पार्टी सचिब सुवालले वर्तमान सरकारले मूल्यवृद्धि र भ्रष्टाचार रोक्न नसेकेको वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

बक्तब्यमा भनिएको छ, ‘नेपालको तराई डुबान हुने गरी भारतीय विस्तारवादद्वारा सिमानाको दशगजामै निर्मित बाँध र तटबन्ध हटाउन समेत सरकारले सकेन ।’

नेमकिपा जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्य राखेको कम्युनिष्ट पार्टी हो । यस अघि देशका बिभिन्न भागमा राम्रो संगठन भएको नेमकिपा अहिले भक्तपुर निर्वाचन क्षेत्र नम्बर एकमा मात्र खुम्चिएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भए पनि स्थापना कालदेखि नै बिजुक्छे नै निरन्तर पार्टी अध्यक्ष रहँदै आउनुभएको र फेरि पनि उहाँ नै पार्टी अध्यक्ष हुने पार्टी निकट स्रोतले जनाएको छ ।

उहाँको बिकल्पमा पार्टीमा अर्को नेता सर्वमान्य नहुँदा फेरि पनि अध्यक्षमा बिजुक्छेको संभावना बलियो भएको हो ।

स्मरण रहोस् पछिल्लो संघीय सभा निर्वाचनमा लामो संसदीय जितलाई बिश्राम दिंदै फेरि पनि जित्ने सुनिश्चित हुदाहुँदै पनि निर्वाचनमा नउठ्ने घोषणा गर्दा त्यागी नेताको रुपमा बिजुक्छेको राष्ट्रिय चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्