इन्द्रजात्राको सांस्कृतिक र ऐतिहासिक पाटो



विश्वनाथ खरेल

विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल हो। वास्तवमा भन्ने हो भने हाम्रो देशमा प्रत्येक दिन एक न एक पर्व या चाड परेको नै हुन्छ।

कुनै पनि व्यक्ति समाज या राष्ट्रको जीवन त्यसको संस्कृतिमा निर्भर गर्दछ। जीवन कार्य छ भने संस्कृति त्यसको कारण छ।

अतः त्यसमा कुनै प्रकारको फेरबदल गरी अर्कोको संस्कृति अंगाल्न खोज्नु आफूमा आफैंले बन्चरो प्रहार गर्नुबराबर हुन्छ। वास्तविक विश्व विजेताहरू सांस्कृतिक विजयलाई बढ्ता महत्व दिइन्छन्।

आमाको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन पृथ्वीमा आएका देवराज इन्द्रलाई मालीलाई नसोधी फूल टिपेकोमा चोर साबित गरी डोरीले बाँधेर मरुटोलमा प्रदर्शन गर्ने गरिएको लोककथन छ।

नेपाली समाजमा विभिन्न चाडपर्व मनाइन्छन्। धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो समाजमा, धार्मिक आस्थाअनुसार मनाइने यस्ता चाडपर्वमा इन्द्रजात्रा पनि एक हो।

यो खासगरी काठमाडौं उत्पत्यका नेवार समुदायको महान् पर्वको रुपमा रहेको छ।भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौंलगायत ललितपुर, दोलखा, भक्तपुर, धुलिखेल, आदि स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गरी परम्परागतरुपमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाआगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ।

यसरी ठड्याइएको लिंगोलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ। हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको विशाल मूर्तिअगाडि धार्मिक विधिअनुसार लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल शुरु हुन्छ।

मंगल सूचकका विभिन्न चिन्ह अंकित पताका झुन्ड्याएको उक्त लिंगो ठड्याएपछि फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ।

लिंगो ठड्याउँदा नेपाली सैनिकको ब्यान्ड बाजा, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगल धुन बजाउँछन्। इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ।

यस अवसरमा हनुमानढोका दरबारक्षेत्रमा रहेको स्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई देखाइन्छ।

यसअधि तान्त्रिक विधिद्वारा पूजा गरी काभे्रपलाञ्चोकको नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ।

यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवित देवीका रुपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। इन्द्रध्वजाको लिंगो ठड्याएपछि जात्रा आठ दिनसम्म रहन्छ।

यसरी आठ दिनसम्म राजधानीका विभिन्न स्थानमा भक्कुनाच हलचोक (सवभकु), भक्तपुरको महाकाली नाच, मिजपातको मजियमत, लाखे नाच, दशअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

यस उपलक्ष्यमा काठमाडौंबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न जाने भक्तजनको घँुइचो लाग्ने गर्छ।

त्यस्तै गरी कुमारी घरअगाडी रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दश अवतार देखाइन्छ।

यसपछि बहुमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ।

यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन्। यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन पहने याः भनेर गणेश, भैरव र कुमारीको रथलाई कान्तिपुर नगरीको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ।

यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिंगो ढालेर जात्राको समापन गरिन्छ।

यसरी आठ दिनसम्म नेवार समुदायले इन्द्रजात्रा मनाउँछन्। इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्पंसत्तः को बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ।

आमाको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन पृथ्वीमा आएका देवराज इन्द्रलाई मालीलाई नसोधी फूल टिपेकोमा चोर साबित गरी डोरीले बाँधेर मरुटोलमा प्रदर्शन गर्ने गरिएको लोककथन छ।

यसै गरी इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ।

इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ।

साथै धिमेबाजाको तालमा प्रसादका रुपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ।

लिंगो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौं पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ।

यो जात्रा गर्नुअधि हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरेर जात्रा हेर्नुपर्ने प्रचलन छ।

यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति जयप्रकाश मल्लको पालादेखि चलिआएको र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाए।

यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतबीज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन्।

यसपछि बहुमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बालेर नगर परिक्रमा गराइन्छ। यसरी इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्नु हो।

१२ औँ देखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठमन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार, फागूभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्हरूले पुरानो चाड मानेका छन्।

समग्रमा भन्नुपर्दा देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो।

पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे।

त्यसपछि दुई हात पछाडि बाँधेर राखेपछि जयन्तलाई छुटाउन देवता र दैत्यहरूबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको किंवन्दती पनि रहेको छ।

यस जात्राको अवसरमा हनुमानढोकाअगाडि रहेको श्वेतभैरव र इन्द्रचोकमा रहेको भैरवलाई एकसातासम्म सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ। राजा गुणकामदेवको पालादेखि इन्द्रजात्राको प्रचलन शुरु भएको मानिन्छ।

हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता रहेको छ। यहाँ भिन्न–भिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन्।

विभिन्न धर्म मान्ने मानिसहरू विभिन्न चाडपर्व मनाउँछन्। त्यसमध्ये इन्द्रजात्रा पनि एक महत्वपूर्ण मानिएको छ।

 

प्रतिक्रिया दिनुहोस्