डेंगुको जवाफ दिन सरकारलाई रुलिङ



नेपाल समाचारपत्र, काठमाडौं। डेंगु रोगले महामारीको रुप लिँदासमेत सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि प्रतिनिधिसभाको बैंठकले डेंगु रोगको महामारीको विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ।

सभामुख कृष्णबहादुर महराले डेंगु रोगको बारेमा सांसदहरूले उठाएको विषयमा संसद्लाई जानकारी गराउन स्वास्थ्यमन्त्री र सरकारलाई निर्देशन दिनुभएको हो।

सभामुख महराले भन्नुभयो– ‘डेंगुको बारेमा सरकार र स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउँछु। सदनलाई यथाशीघ्र जानकारी गराउन निर्देशन दिन्छु।’

बिहीबार बसेको प्रतिनिधिसभामा बैठकमा सांसदहरूले डेंगु प्रकोपका बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारको नाममा विशेष रुलिङ गर्नुभएको हो।

केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेंगुबारे माननीयहरूले कुरा उठाउँदै आउनुभएको बताउँदै रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

संसद्मा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका सांसदहरूले डेंगुरोगको महामारी फैलिएको भन्दै सरकारको स्पष्ट जवाफको माग गरेका थिए।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले डेंगुबारे सरकारले स्पष्ट जानकारी नदिएको भन्दै तत्काल यो विषय सदनलाई जानकारी गराउन माग गर्नुभयो।

उहाँले भन्नुभयो– ‘अब कतिजना सांसदलाई डेंगु भएपछि सरकारको ध्यानाकर्षण हुने हो ?’
त्यसै गरी नेकपाकै सांसद खगराज अधिकारीले डेंगु रोगको प्रकोपका बारेमा सरकारले स्पष्ट धारणा सार्वजनिक माग गर्नुभयो।

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले डेंगुको महामारी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै हरेक वर्षजसो यस विषयमा हल्ला हँुदा पनि किट प्रकोप नियन्त्रणका लागि ध्यान नदिएको बताउनुभयो।

सांसदहरूले बारम्बार संसद्मा डेंगु रोग नियन्त्रणका लागि प्रश्न उठाए पनि सरकारले जवाफ नदिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्