बसन्त चौधरीको विश्व-काव्ययात्रा न्युयोर्कमा



नेपाल समाचारपत्र, काठमाडौं ।

कवि बसन्त चौधरीले आफ्नो विश्व–काव्ययात्राको दोस्रो चरणअन्तर्गत ११ सेप्टेम्बर, २०१९ को साँझ अमेरिकाको न्युयोर्क सहरमा एकल कविचावाचन गरे ।

कवितावाचनका माध्यमले प्रवासी नेपालीहरूलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउँदै नेपाली भाषा–साहित्यको प्रचार–प्रसार गर्ने र नेपाली वाङ्मयको वर्तमान अवस्थाबारे बोध गराउने उद्देश्यले आयोजना गरिएको सो एकल कवितावाचनमा कवि चौधरीले डेढ दर्जनजति कविता सुनाएका थिए ।

‘माग्दिन प्रभु म तिम्रो स्वर्ग देऊ,
यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ’

कुनै पनि समारोहको आरम्भ गर्नुअघि ईश्वरको वन्दना गरिन्छ । कवि चौधरी पनि यही मान्यतालाई स्वीकार्दै वन्दनास्वरूप आफ्नो कवितावाचनको सुरुवात माथिको आध्यात्मिक गीतबाट गरेका थिए ।

प्रेम–कविता त कवि चौधरीको परिचय भइ नै हाल्यो । उनले यसपटक प्रेमबाहेक राजनीतिक विसंगति, सामाजिक घटना र प्रकृतिबारे करिब दुई घन्टा कविता पाठ गरेका थिए । उनले कवितावाचन गर्ने क्रममा एक पंक्ति मुक्तक सुनाए–
विछोड पनि माया नै हो
सम्झना भई आइरहन्छ
जति टाढा भए पनि के भो र ?
स्पन्दनले गनगुनाइ रहन्छ
कविता वाचनकै क्रममा उनले भने– ‘उद्योगी–व्यवसायीहरू कवि हुन सक्दैन भन्ने आम धारणा छ । त्यसैले, म आपूmलाई कवि होइन्, काव्यको उपासक मान्दछु र आराधना गर्दछु । त्यही उपासनाको क्रममा ममा जुन भावहरु उर्लन्छन्, तिनमा डुबुल्की मार्दा मेरा हातमा कहिले सीपी, कहिले मोती आउँछन् र तिनलाई अक्षरको रुप दिएर सजाउँदा, ती कविता बन्छन् ।’

कवितावाचनसँगसँगै उनको व्याख्यान पनि त्यत्तिकै रोचक र प्भावकारी हुन्छ । अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास), न्युयोर्क च्याप्टरद्वारा आयोजित १९ औँ शृङ्खलामा उनी कविता बाचन गर्दै थिए ।

कवितावाचनका क्रममा उनले आफ्ना दुई लोकप्रिय गजल पनि सुनाएका थिए । कविता वाचनकै क्रममा प्रवासमा बस्नेहरूकै लागि लेखिएको ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता वाचन गर्दा श्रोता गम्भीर र विह्वल भएका थिए ।

‘आमा’ कविता वाचन गर्नुअघि उनले व्यक्त गरे, ‘आमा’ शब्द उच्चारण गर्ना साथै एक किसिमको स्नेह र ममत्वको भाव नसानसामा सञ्चारित हुन्छन् । प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरङ्गित हुन थाल्छन् । र, भावनाका अजस्र स्रोतहरू एकैपटक रसाएर बग्न थाल्छन् ।

आमाविनाको संसार कस्तो उराठ लाग्दो, एकाकी हुन्छ ? यसको अनुभूति मलाई छ । त्यसैले आमा ब्रह्माण्डकै सर्वप्रिय, सर्वपूज्य अनि हृदय र ढुकढुकीभन्दा पनि निकटको नाता हो ।’ यी वाक्य र हरफहरूले सबैलाई गम्भीर र संवेदनशील बनाइदियो ।

यस अघि ८ सेप्टेम्रमा क्यानडामा आफ्नो काव्ययात्रा सम्पन्न गरेर न्यूयोर्क आइपुगेका कवि चौधरीले विश्व–काव्ययात्राको २० औँ शृङ्खला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा प्रस्तुत गर्दैछन् ।

यस अघि ८ सेप्टेम्रमा क्यानडामा आफ्नो काव्ययात्रा सम्पन्न गरेर न्यूयोर्क आइपुगेका कवि चौधरीले विश्व–काव्ययात्राको २० औँ शृङ्खला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्