खोई त पहिरोपीडितलाई राहत



विनोद सिंह विष्ट, बैतडी।एक महिनाअगाडि पहिरोले थातवासै गुमाएका बैतडीको सुर्नयाका पहिरोपीडितले हालसम्म पनि राहत पाउन नसकेको गुनासो गरेका छन्।

गत साउन २२ गते सडकबाट खसेको पहिरोले विस्थापित भएका सुर्नया गाउँपालिका ८ मल्लोढोलेका ६ परिवार अझै अर्को कै घरमा बस्न बाध्य भएका छन्।

रेडक्रसको सामान्य राहतबाहेक अरु कसैले राहत पनि नदिएको उनीहरूले गुनासो गरेका छन्। पहिरोले घर तथा खेतबारी गुमाउँदासमेत कसैले नहेरेको स्थानीय अम्मर बोहराले जानकारी दिनुभयो।

पीडित परिवारलाई खानलाउनमै समस्या भएको उहाँले बताउनुभयो। खेतमा लगाएको अन्न र घर सडकमाथिबाट खसेको पहिरोले बगाएपछि आफूहरूको बिच्चली भएको उहाँले बताउनुभयो।

पहिरोले स्थानीय लालबहादुर बोहरा, डम्बर बोहरा, अम्बर बोहरा, महावीर बोहरा, रमेश बोहरा र धौलसिंह बोहराको परिवार पूर्ण रूपमा विस्थापित भएका छन्।

उनीहरूको घरजग्गा सबै पहिरोले लगेपछि अर्कोको घरमा बसिरहेका छन्। घरबारविहीन भएको एक महिना हुनै लाग्दासमेत कसैले चासो नदिएको पीडितहरूले गुनासो गरेका छन्।

सतबाँझ श्रीभावर सडक खण्डअन्तर्गत ढोल्यामोढदेखि वडा कार्यालयसम्म काटिएको सडकबाट पहिरो खस्दा ६ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने २२ परिवार पहिरोको उच्च जोखिममा रहेका छन्।

यस्तै ६ परिवार पहिरोको जोखिममा रहेका सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिनुभयो। पीडित परिवारको समस्या समाधानका लागि गाउँ कार्यपालिकाको बैठकमा छलफल गरिने जनाइएको छ।

सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले प्रभावित भएकाले उनीहरूको व्यवस्थापनका लागि सबै सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताउनुभयो।

यता जिल्ला प्रशासन कार्यालय बैतडीले पनि पहिरोले विस्थापित भएका पीडितको पुनस्र्थापनाका लागि पहल थालिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले प्रभावित क्षेत्रको अनुगमन गरिसकेको र पुनस्र्थापनाका लागि मन्त्रालयमा जानकारी पठाएको बताउनुभयो।

सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा गत महिना पहिरो खस्दा गाउँ नै जोखिममा पर्यो। असारमा डोजरले खनेको सडकले पहिरो खस्दा ६ घर विस्थापित भएका छन् भने करिब २२ घर जोखिममा परे।

ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडककै कारण गाउँ नै जोखिममा परेको हो। स्थानीय प्रेमबहादुर बोहराका अनुसार सडकमाथिबाट ठूलो पहिरो खसेको छ।

एक परिवार पूर्णरुपमा विस्थापित भएको छ। भने अन्य पाँच परिवार घर छोडेर आफन्तका घरमा बस्न बाध्य रहेको रेडक्रस बैतडीका मन्त्री रमेशसिंह भण्डारीले जानकारी दिनुभयो।

भिरालो जमिन भएकाले स्थानीयले अन्यत्रबाट सडक लैजान आग्रह गरे पनि गाउँ नै जोखिममा पर्ने गरेर डोजरले सडक काट्दा विस्थापित हुनुपरेको स्थानीय अम्मरसिंह बोहराले बताउनुभयो।

ढोल्यामोडदेखि सुर्नया गाउँपालिका–८ को कार्यालयसम्म गत वर्ष करिब ९५ लाख रुपियाँमा सडक खनिएको थियो। सडकका कारण पहिरोको जोखिम बढेको स्थानीय वीरबल बोहराले बताउनुभयो।

उहाँले भन्नुभयो– सडकमा खनिएको सबै माटो खेतमा आएको छ। माथिबाट पूरै पहिरो खसेर घर नै जोखिममा परेका छन्। सडककै कारण वस्ती जोखिममा परेका हुन्।’

प्रतिक्रिया दिनुहोस्