त्रिविका रजिस्ट्रारमाथि दुव्र्यवहार



काठमाडौं, (नेस)। आफ्नो भागबण्डामा परेका क्याम्पस प्रमुख, विभिन्न निकायमा प्रमुखलाई यथावत राख्नुपर्ने माग गर्दै प्रजातन्त्रवादी प्रध्यापक संघले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्ली उप्रेतीमाथि दुव्र्यवहार गरेका छन्।

दिउँसो करिब सवा १२ बजे कीर्तिपुर स्थित रजिस्ट्रार कार्यालयमा पुगेका संघका अध्यक्ष जगत तिमल्सिनासहितको करिब चार दर्जन शिक्षकको समूहले रजिस्ट्रार माथि दुव्र्यवहार गर्दै कुर्सीसमेत फालेका थिए।

प्रजातन्त्रवादी प्राध्यापक संघको भागबण्डामा परेका करिब आधा दर्जन क्याम्पस प्रमुख र सहायक डीनको स्थानमा सोही संगठनको प्राध्यापक नियुक्ति गर्नुपर्ने माग गर्दै रजिस्ट्रार कार्यालय पुगेको प्रध्यापक र रजिस्ट्रार दिल्ली उप्रेतीबीच केही समय भनाभन परेको थियो।

‘उहाँहरू आउनुभयो, खाली भएको स्थानमा तत्काल नियुक्ति गर्नुपर्यो भन्नुभयो मैले नयाँ उपकुलपति नआएसम्म नियुक्ति गर्न मिल्दैन भन्दा कुर्सीले धचेडेर ममाथि दुव्र्यवहार गर्न थाल्नुभयो’ –प्राध्यापकले गरेको दुव्र्यवहार बारे जानकारी गराउँदै रजिस्ट्रार उप्रतीले भन्नुभयो।

करिब ५० जनाको संख्यामा आएका प्रध्यापकले ममाथि दुव्र्यवहार गर्न थालेपछि कोठा छाडेर हिँडे, त्यसपछि के भयो कार्यालयमा सोध्नुस भन्नुभयो। उहाँले अहिलेको अवस्थामा गम्भीर असर पर्ने खालका नियुक्ति गर्न नमिल्ने बताउनुभयो।

तत्कालीन उपकुलपति प्राडा तीर्थराज खनियाले नियुक्ति गर्न नसकेको अवस्थामा आफुहरूले अहिले नियुक्ति गर्न नमिल्ने उहाको भनाइ थियो।

तर तीन महिने उपकुलपति प्राडा सुधा त्रिपाठीले उपकुलपति भए लगत्तै नेपाली केन्द्रीय विभागमा ४ वर्षे कार्यकालका लागि विभागीय प्रमुख नियुक्ति गर्नुभएको थियो।

प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाले समय माग गरेर मागबारे जानकारी गराउन पुग्दा रजिस्ट्रारले कुनै सुनुवाइ नगरेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हाम्रो पक्षका प्राध्यापकलाई नियुक्ति गर्न नमिल्ने भन्ने अनि नेपाली विभागमा मनपरीरूपमा आफ्नो मान्छे नियुक्ति गर्ने पदाधिकारीलाई दवाव दिन आफूहरू रजिस्ट्रार कार्यालय पुगेको बताउनुभयो।

छोटो अवधिका लागि नियुक्ति भएका क्याम्पस प्रमुख र सहायक डीनलाई नियुक्ति दिनुपर्ने माग गर्दै आफूहरू रजिस्ट्रार कार्यालय पुग्दा रजिस्ट्रारले अभद्र व्यवहार गरेको आरोप उहाँको थियो।

सो संगठनको सुर्खेत, पाटन संयुक्त, जनकपुर, पुल्चोक, वीरगन्जलगायत करिब आधा दर्जन क्याम्पस र संस्थानमा क्याम्पस प्रमुख र डीन नियुक्ति भएका छन्।

त्रिविभित्र आफैले राजनीति गर्न खोज्ने अनि हामीमाथि दुव्र्यवहार भयो भनेर आरोप लगाउने काम सरासर गलत भएको तिमिल्सिनाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्