इन्द्रजात्रामा सहभागी हुने पाउना आउन थाले



नेपाल समाचारपत्र, काठमाडौं।इन्द्रजात्रा अवलोकन गर्न पहिलो पटक अन्तर्राष्ट्रिय नगरका प्रमुख र प्रतिनिधिलाई सहभागी गराउन लागिएको औपचारिक जानकारी दिँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज बिहीबारसम्म आमन्त्रित सबै पाहुना काठमाडौं आइपुग्ने जानकारी दिनुभएको छ।

पर्यटन वर्षको पूर्वसन्ध्यामा काठमाडौंका जीवन्त एवम अमूर्त सम्पदा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार–प्रसारलगायत महानगरले अघि बढाएका कार्यक्रमका बारेमा जानकारी दिँदै मेयर शाक्यले पाहुनाले ४ रात ५ दिन काठमाडौंमा बसाउने बताउनुभयो।

उहाँहरू नेपाल आइपुगुन्जेलको खर्च उहाँहरू आफैंको हो।यहाँ आइपुगिसकेपछि आवास, खानपान र भ्रमण अवलोकनको व्यवस्था महानगरले मिलाउने छ।

पाहुना व्यवस्थापनका विषयमा कुरा गर्दै उहाँले अवलोकनमा आउने पाहुनालाई ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरी नगरपालिकाको समन्वयनमा चन्द्रागिरी क्षेत्रका भ्रमण अवलोकन गराउने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘यसैलाई मध्यनजर राखेर महानगरको निम्तामा आएका प्रतिनिधि मन्डललाई महानगरसँगै उपत्यकाका महत्वपूर्ण सम्पदा क्षेत्रको भ्रमण अवलोकन गराउने लक्ष्य राखिएको हो।

काठमाडौं आइपुग्ने पाहुनालाई २७ गते हनुमान ढोका आसपास कुमारी रथयात्रा हुने तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्या≈न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथ यात्राको अवलोकन गराइनेछ।

भदौ २८ गते चन्द्रागिरी, छाउनीको प्राकृतिक संग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना छ। त्यस्तै २९ गते आइतबार भक्तपुर र पाटन दरबार स्क्वायरको भ्रमण अवलोकन हुनेछ।

त्यसै दिन साँझ विदाइ समारोह आयोजना गरिनेछ। त्यस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको सहभागी हुनेछ।

विदाइ समारोहमा इन्द्रजात्रासहित उपत्यकाका मौलिक जात्रा र पर्वको पर्यटकीय आकर्षण र नेपाल भ्रमण वर्ष २०२० मा नेपालका तर्फबाट महानगरका भगिनी सम्बन्ध भएका सहरहरूलाई सहभागिताका लागि निम्ता गरिने भएको छ।

‘अन्तर्राष्ट्रिय जगतमा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर गर्न मात्र होइन, नगरवासीको सभ्यता चिनाउने कामका लागि पनि सबै मिलेर पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउनुपर्छ।

‘नेवार समुदायको मात्र होइन, यो सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनु पर्छ’ –मेयर शाक्यले भन्नुभयो।

भदौ २७ गते कुमारी रथ यात्रा शुरू गरेर वसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ।
त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति वसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ। २८ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ।

यस अवधिमा लाखे, हलचोक भैरव, पुलुकिसी, देवी लगायत तान्त्रिक बिद्यामा आधारित नाचहरू र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन्। भदौ ३१ गते हुने नानिचा यात्रासँगै इन्द्रजात्रा सकिनेछ।

कहाँ—कहाँबाट को–को सहभागिता हुँदै छन् जात्रामा

यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ नगरबाट ५ जना मेयरसहित ४८ पाहुना आउने निश्चित भएको छ।

गएको ७ महिनादेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरूलाई निमन्त्रणा पठाउन थालिएको थियो।

यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इस्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ। यसरी आउने पाहुनाको संख्या ४८ जनाको हुने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्